बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

एजेन्सी । बङ्गलादेशको युद्ध अपराधसम्बन्धी अदालतले सोमबार देशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मुद्दा सामना गर्न अदालतमा हाजिर हुन आदेश दिएको छ ।

७७ वर्षीया हसिना सन् २०२४ को जनविद्रोह चरममा पुगेको बेला हेलिकप्टरमार्फत ढाका छाडेर भारत भागेकी थिइन् । बङ्गलादेश फर्कन पटकपटक आदेश दिइए पनि उहाँले प्रत्यर्पण आदेशको अवहेलना गर्दै आएकी छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार, हसिनाको नेतृत्वमा भएको सरकारले सत्तामा टिकिरहने असफल प्रयासमा हिंसात्मक दमन सुरु गर्दा सन् २०२४ को जुलाई र अगस्टबीच करिब १,४०० नागरिकको ज्यान गएको थियो ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (क्ष्ऋत्) मा हसिनासहित अवामी लिगका अन्य पूर्व उच्चपदस्थ नेताहरूविरुद्ध मुद्दा दायर गरिएको छ । अभियोजन पक्षका अनुसार, हसिनामाथि उक्साहट, सहजीकरण, षड्यन्त्र, संलग्नता र सामूहिक हत्या रोक्न असफलताजस्ता पाँचवटा गम्भीर आरोप लगाइएको छ, जुन बङ्गलादेशी कानुनअनुसार मानवता विरुद्धको अपराधमा पर्छ ।

मुख्य अभियोजक मुहम्मद ताजुल इस्लामका अनुसार, अदालतले अभियोजन टोलीलाई हसिनासहित सबैलाई उपस्थित गराउने सूचना छिट्टै जारी गर्न निर्देशन दिएको छ ।

यदि शेख हसिना अदालतमा जुन २४ भित्र उपस्थित नभएमा, उनको अनुपस्थितिमै मुद्दा अघि बढाइनेछ ।

हसिनासँगै पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल, जसविरुद्ध समान आरोपहरू छन्, फरार छन् भने पूर्व प्रहरी प्रमुख चौधुरी अब्दुल्लाह अल मामुन हिरासतमा रहेका छन् र सोमबार अदालतमा पेश गरिएका थिए ।

शेख हसिनाको सरकारका वरिष्ठ नेताहरूलाई कारबाहीमा ल्याउने माग अहिले बङ्गलादेशका विभिन्न राजनीतिक दलहरूको प्रमुख एजेन्डा बनेको छ । अन्तरिम सरकारले २०२६ अप्रिलमा आम निर्वाचन गर्ने घोषणा गरेको छ, तर केही दलहरूले यसअघि नै चुनाव गर्न दबाब दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =