बुढानिलकण्ठमा भारतीय पुरुष र नेपाली महिला मृत फेला

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला परेको छ ।
बुढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित साढे दुई तले घरभित्र पुरुष र महिला मृत फेला परेका हुन् । उनीहरूसँगै एक कुकुर पनि मृत भेटिएको छ ।
मृत फेला परेका पुरुष भारतको पन्जाब चन्डिगढका ५४ वर्षीय परम नारायण गिल र २८ वर्षीया अन्जना तामाङ छन् । अन्जना धादिङ गल्छी गाउँपालिका–६ घर भई हाल सोही घरमा काम गरी बस्ने गर्थिन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले शुक्रवार राति पौने १० बजेतिर उनीहरूको शव फेला परेको जानकारी दिए ।
कोठाभित्र अन्जना र परम नारायण दुवै जना मृत अवस्थामा भेटिएका र अन्जनाको टाउकोमा चोट देखिएको उनले बताए ।
उनका अनुसार गिलको शरीरमा कुनै पनि चोट देखिएको थिएन । नजिकै एउटा ह्याम्मर पनि फेला परेको थियो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।








