रास्वपा सांसदहरुले जनतालाई नै गुमराहमा राखे : सांसद डा. महत

काठमाडौं । नेपाली काँग्रेसका सांसद डाक्टर प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु बजेटका तमाम विषयको छलफलमा सहभागी नभएर एउटा महत्वपूर्ण अवसर गुमाएको बताएका छन् ।
आईतवार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद डा. महतले बजेट वर्षमा एकपटक आउने र बजेटको तमाम विषय चिरफार गर्नुपर्ने समयमा आन्दोलन गरेर उक्त अवसर गुमाएको बताए ।
उनले कुनैपनि आधार नै नभएको विषयलाई लिएर छलफलमा भाग नलिनु जनप्रतिनिधिको हैसियतले जनतालाई नै गुमराहमा राख्नु सरह भएको आरोप लगाए ।
विरोधकाबीच पनि प्रमुख प्रतिपक्षी दलले सक्रिय सहभागिता जनाउनु खुशीको विषय भएको बताउँदै उहाँले मुलुकको वित्त व्यवस्थापनका कुराहरु बजेटले बोल्ने भएकाले तथ्यहीन विषयमा आन्दोलन गरिरहनुको कुनै औचित्य नभएको टिप्पणी गरे ।
उनले परिणाममुखी बजेटको आवश्यकतालाई ध्यान दिँदै अर्थमन्त्रीले आर्थिक वर्ष २०८२÷८३ को बजेटलाई परिणामुखी बनाउने कोसिस गरेको बताए ।








