महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको चौथो संस्करण सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ सम्पन्न भएको छ ।
यहीँ जेठ २१ गते बुधवार देखि जेठ २४ गते शनिवार (चार दिन) सम्म काठमाण्डौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राईम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने नबिल बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।
उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, बिमा कम्पनीहरू, मर्चेन्ट बैंंकहरु तथा लघुवित्त वित्तीय संस्थाका २४ टिमले सहभागिता जनाएका थिए । साथै उक्त प्रतियोगिताको विजेताहरूलाई पुरस्कार वितरण कार्यक्रम समेत हिजो सोमबार सम्पन्न भएको थियो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यमा काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई डेपुटी गभर्नर बम बहादुर मिश्र तथा बैंकका अध्यक्ष राजेश उपाध्यायले संयुक्त रुपमा विजेता ट्रफी हस्तान्तरण गरेका हुन् ।
उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर नबिल बैंक लि.का अमृत चौलागाई, उत्कृष्ट विकेट–किपर नबिल बैंक लिमिटेडका विजय पारा लिम्बु, उत्कृष्ट बलर एन.एम.बी बैंकका अनिल बर्तौला, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट खेलाडी आइ.सि.एफ.सि. फाइनान्सका सुरज तिमिल्सिनाले जित्न सफल भएका छन् ।
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ का सम्पूर्ण प्रायोजकहरू, सहभागी सम्पूर्ण टिमहरू, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोग गरेका व्यक्ति/संस्थाहरुलाई बैैंकले आभार व्यक्त गरेको छ ।








