प्लस टु पछि विदेश मोह

किन थामिँदैन नेपाली विद्यार्थीको पलायन ?

काठमाडौं । प्लस टु सकिएपछि के गर्ने ? अधिकांश युवासँग सरल उत्तर छ- पढ्न विदेश जाने । नेपालमा अन्तर्राष्ट्रिय स्तरकै शिक्षा दिने र विदेशी विश्वविद्यालयकै अफिलिएसनमा खुलेका शैक्षिक संस्थाहरु पनि नभएका होइनन्, तर अध्ययनका लागि भन्दै विदेश जाने युवाको संख्या दिनप्रति दिन बढ्दै जाँदा नेपालका उच्च शिक्षाका संस्थाहरुमात्र खाली भइरहेका छैनन्, एउटा सिंगो पुस्ता नै नेपाली समाजबाट हराउँदैछ ।

पढ्नका लागि विदेशिने विद्यार्थीको संख्या बढ्दा उच्च शिक्षाका निम्ति बर्सेनि नेपालबाट बाहिरिने रकम पनि बढ्दै जान थालेको छ । स्वदेशमा सम्भावना नदेखेपछि सुनौलो भविष्यको खोजीमा विदेशिने नेपालीहरूको संख्या बढेको हो ।

उच्च शिक्षाका लागि यसरी व्यापक मात्रामा नेपाली विद्यार्थी विदेश जाँदा देशको विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने तथा दक्ष जनशक्ति पलायनको अवस्था आउनसक्ने चिन्ता बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ७ महिना (साउनदेखि माघसम्म)मा नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले ६४ अर्ब १५ करोड रुपैयाँ बराबरको सटही सुविधा पाएका छन् । गत वर्षको सोही अवधिमा ६६ अर्ब ६४ करोड रुपैयाँ बराबरको सटही सुविधा विद्यार्थीहरूले पाएका थिए ।

नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूले त्यहाँ शुल्क तिर्नका लागि विदेशी मुद्रा सटहीको सुविधा पाउने गर्छन् । पछिल्ला वर्षहरूमा नेपालबाट विदेश जाने विद्यार्थीको संख्या र त्यसमार्फत् विदेशी मुद्रा बाहिरिने क्रम निरन्तर बढिरहेको अधिकारीहरू बताउँछन् । आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा भने नेपालबाट विदेश जाने विद्यार्थीहरूले २८ अर्ब ८० करोड ८६ लाख रुपैयाँ बराबरको रकम विदेश लगेका थिए । गत आर्थिक वर्षमा नेपालबाट विदेश अध्ययन गर्न जानेहरूसँगै १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको विवरण छ । त्यो अघिल्लो वर्षको भन्दा करिब एक चौथाइको वृद्धि हो । पछिल्ला दुई वर्षमा त्यस्तो कारोबार एक खर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूले नेपालको शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्शन लेटर’ (एनओसी) लिनुपर्ने व्यवस्था छ । दैनिक औसतमा दुई देखि तीन सय नेपालीहरूले विदेश जानका लागि त्यस्तो एनओसी लिने गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । नेपाली विद्यार्थीको रोजाइमा अस्ट्रेलिया, जापान, यूके, क्यानडा, अमेरिका, दक्षिण कोरिया, भारतलगायत छन् । गत साउनदेखि माघ ४ गतेसम्मको विवरण हेर्दा यस अवधिमा कुल ५० हजार १ सय ९० जनाले एनओसी लिएको मन्त्रालयको एनओसी शाखाका रुजु गर्ने अधिकारी खडोस सुनुवारले बताए ।

गत वर्ष साउनदेखि माघ ४ गतेसम्मको विवरण हेर्दा त्यस बेला ४३ हजार ८ सय ५५ जना र त्यसभन्दा अघिल्लो वर्षको सोही अवधिमा ४२ हजार ६ सय ५० जनाले एनओसी लिएका थिए । यो विवरणले पनि हरेक वर्ष विदेश जान चाहने विद्यार्थीको संख्या बढिरहेको देखाउँछ ।

नेपाली शैक्षिक संस्थाको सेवामाथि गुणस्तरको प्रश्न, पढाइ सकिएपछि अवसरको अभाव, बेरोजगारी, महँगीलगायत विभिन्न बाध्यताका कारण वैदेशिक अध्ययन गर्न जानेको संख्या बढेको शिक्षाविद् सुसन आचार्य बताउँछिन् । ‘यहाँको राजनीतिक अस्थिरतालगायतका कारणले गर्दा ११ कक्षा पढ्दादेखि नै बिदेसिनका लागि तयारी गर्ने र १२ कक्षा सकेपछि विदेश जाने प्रवृत्ति नै बन्यो,’ उनले भन्छिन्, ‘हाम्रोमा अहिले पनि एउटा विषय पढेको मान्छे अर्को संकाय वा विषयमा जान्छु भन्दा पाउँदैन तर विदेशमा त्यस्तो गर्न पनि पाइन्छ । त्यस्तै लचिलो व्यवस्था यहाँ भयो भने पनि कतिपय विद्यार्थीलाई अड्याउन सकिन्छ ।’

तीव्र रूपमा नेपाली विद्यार्थी विदेशिने क्रम रोक्नका लागि सरकारले ‘स्वदेशमै उच्च शिक्षा लिन प्रोत्साहन गर्ने’ नीति अख्तियार गर्नुपर्ने उनको सुझाव छ । उच्च शिक्षामा भइरहेको राजनीतिकरण तथा परीक्षाको नतिजा ढिलो आउनेलगायतका समस्या हल गर्न आवश्यक छ ।

यसरी देश विकासको मेरुदण्ड उत्पादन, उपभोग र अर्थतन्त्रलाई चलायमान बनाई गति दिने मुख्य शक्ति युवाको ठूलो संख्या दिन-प्रतिदिन बिदेसिनुले नेपालमा बहुआयामिक संकट र सामाजिक विघटन निम्त्याइरहेको छ । विद्यार्थीहरू बिदेसिनुमा नेपालका शैक्षिक संस्थाको व्यवस्थापन र यिनको गुणस्तरमा भएको कमजोरी, शैक्षिक संस्थामा भएको राजनीतिक भागबन्डा, समयमै परीक्षा नहुने, पढिसकेपछि रोजगारीको व्यवस्था नहुने, विश्वविद्यालय र देशको अर्थतन्त्र नजोडिने तथा पाठ्यक्रममा समयसापेक्ष सुधार नहुनुजस्ता कारण छन् । देशको राजनीतिक नेतृत्व र व्यवस्था तथा भविष्यप्रति युवाको विश्वासमा देखिएको कमी पनि पलायनको एक प्रमुख कारण हो । ज्ञान र प्रविधिको विकास गरी देश विकासमा योगदान दिनुपर्ने नेपाली विश्वविद्यालय राजनीतिक भागबन्डा, भ्रष्टाचार र असफल राजनीतिक दलका भ्रातृसंस्थाजस्तो बन्नुले युवा विद्यार्थीको पलायन बढिरहेको छ ।

नेपालको मुख्य उत्पादनशील शक्तिका रूपमा रहेको युवा जनशक्तिको चरम विदेश पलायन एउटा गम्भीर संकटका रूपमा आएको छ । यसको पछाडि हाम्रो देशको समग्र अर्थराजनीतिक प्रणाली, राज्यको नेतृत्व, अर्थतन्त्र, राज्यका विभिन्न अंगले गरिरहेका काम र तिनमा भएका गम्भीर समस्या कारकका रूपमा रहेको शिक्षा क्षेत्रमा दुई दशकदेखि काम गरिरहेका नरोत्तम अर्याल बताउँछन् ।

नेपालको शिक्षामा जुन किसिमले रूपान्तरण हुनुपर्ने थियो त्यस अनुसार नभएको उनले बताए । ‘कागज छ, तर हातमा सिप छैन, ज्ञान छैन । कुनै समस्या समाधान गर्न सक्ने खालको स्किल छैन । केही प्रतिशत राम्रो छन् । तर, केही राम्रो भएको भन्दैमा त्यसैमा मात्र गर्व गरेर बस्ने भन्ने होइन,’ उनले अगाडि भने, ‘हामीले ठूलो संख्यामा सर्टिफिकेट त दियौं । तर, त्यो सर्टिफिकेटको उद्देश्य चाहिँ के त ? सिप हुनुपर्ने, ज्ञान हुनुपर्ने, हाम्रो समस्या समाधान गर्नुपर्ने, रोजगारीमा जोडिनुपर्ने हो । तर, त्यो नभएको कारणले युवाहरू विदेश जाने चलन बढ्दै गएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =