पाँच पटकको च्याम्पियन मुम्बई आउट, उपाधिका लागि पञ्जाब र आरसीबीको भेट पक्का

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पञ्जाब किङ्सले दोस्रोपटक फाइनल यात्रा तय गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । आइतबार अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न क्वालिफायर-२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै पञ्जाबले फाइनल स्थान सुरक्षित गरेको हो ।

यससँगै आईपीएलले यसपटक नयाँ विजेता पाउनेछ । पञ्जाबले आगामी जुन ३ मा रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) सँग उपाधिका लागि भिड्नेछ ।

२०४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको पञ्जाबलाई कप्तान श्रेयस अयरले ८७ रनको अविजित इनिङ खेल्दै सहज जित दिलाए । ४१ बलमा खेलिएको उनको विस्फोटक ब्याटिङमा ५ चौका र ८ छक्का थिए ।

नेहल वाधेराले ४८ र जोश इंग्लिसले ३८ रनको योगदान गरे । मुम्बईका बलर अश्विनी कुमारले २ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् । पहिले ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्मा र सूर्यकुमार यादवले समान ४४/४४ रन बनाए भने जोनी बेयरस्टोले ३८ रनको पारी खेले । तर पञ्जाबका अजमतुल्लाह उमरजईको प्रभावशाली बलिङ (२ विकेट) ले मुम्बईको पारी रोकियो ।

आरसीबी-पञ्जाबबीच उपाधि भिडन्त
पञ्जाब किङ्स २०१४ पछि पहिलो पटक फाइनल पुगेको हो । उता आरसीबीले यसअघि नै क्वालिफायर-१ मा पञ्जाबलाई हराएर फाइनल टिकट काटेको थियो । दुवै टिमले अहिलेसम्म आईपीएलको उपाधि जितेका छैनन्, जसले गर्दा यसपटक प्रतियोगिता इतिहासमा नयाँ च्याम्पियनको उदय निश्चित भएको छ ।

पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले एलिमिनेटरमा गुजरातलाई हराएर क्वालिफायर-२ सम्म यात्रा गरे पनि कप्तान हार्दिक पाण्ड्याको नेतृत्वमा अन्ततः रोकिएको छ । अब सम्पूर्ण नजर जुन ३ मा हुने पञ्जाब बनाम आरसीबीको फाइनल भिडन्तमा रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 1 =