गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा

काठमाडाैं । मुम्बई इन्डियन्सले गुजरात टाइटन्समाथि रोमाञ्चक २० रनको जित निकाल्दै इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । इलिमिनेटर अन्तर्गत पञ्जाबको न्यु चण्डीगढ़स्थित महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा मुम्बईले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दौडलाई जीवित राखेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २८ रनको विशाल योगफल खडा गरेको थियो। जवाफी लक्ष्यमा उत्रिएको गुजरातले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ५० बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८१ रनको शानदार अर्धशतकीय पारी खेले। उनले ओपनिङ जोडी जोनी ब्रेयस्ट्रोसँग ८४ रनको साझेदारी गर्दै पारीको सशक्त सुरुआत गरेका थिए। ब्रेयस्ट्रोले २२ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए।

त्यसपछि सूर्यकुमार यादव (२० बलमा ३३ रन), तिलक वर्मा (११ बलमा २५ रन) र हार्दिक पाण्ड्या (९ बलमा अविजित २२ रन) को आक्रामक योगदानले मुम्बईले विशाल लक्ष्य प्रस्तुत गर्न सफल भयो। गुजरातका लागि साई किशोर र प्रसिद्ध कृष्णाले समान २ विकेट लिए भने मोहम्मद सिराजले १ विकेट लिए।

२ सय २९ रनको कठिन लक्ष्य पछ्याएको गुजरातका लागि ओपनर साई सुदर्शनले एक्लैले संघर्ष गरे। उनले ४९ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ८० रन बनाए। तेस्रो विकेटका लागि वासिङ्गटन सुन्दरसँग ८४ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे।

सुन्दरले २४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४८ रनको योगदान दिए। यद्यपि अन्त्यतिर कुशल मेन्डिस (२०), रादरफोर्ड (२४), शाहरुख खान (१३ बलमा आउट) र राहुल तेवातिया (नटआउट १६) को प्रदर्शन लक्ष्य पछ्याउन पर्याप्त भएन।

मुम्बईका बलरहरू पनि अनुशासित रहे। ट्रेन्ट बोल्टले २ विकेट लिए भने अश्विनी कुमार, जसप्रित बुमराह, रिचार्ड गिल्सन र मिचेल स्यान्टनरले समान १ विकेट हात पारे।

मुम्बई इन्डियन्स अब दोस्रो क्वालिफायरमा पञ्जाब किङ्सको सामना गर्नेछ। उक्त खेल आइतवार अहमदावादमा हुनेछ। त्यस खेलको विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) सँग उपाधिका लागि भिड्नेछ। आरसिबी यसअघि पहिलो क्वालिफायरमा पञ्जाबलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =