केएमसीमा हाइपरम्याङ्गानेसेमियाको सफल उपचार

काठमाडौं । काठमाडौं मेडिकल कलेज केएमसीमा हाइपरम्याङ्गानेसेमियाको सफल उपचार गरिएको छ । यो नेपालमै पहिलो पटक गरिएको सफल उपचार हो । यो रोग संसारका कमै मानिसमा मात्रै देखिन्छ ।
यही रोगबाट पीडित थिइन् अर्घाखाँचीकी २१ महिनाकी आध्या बिक । दुर्लभ स्नायु सम्बन्धी रोग हाइपरम्याङ्गानेसेमिया बाट पीडित उनको केएमसीमा सफल उपचार गरिएको हो ।
प्रारम्भमा सामान्य रूपमा हिँडडुल गर्न सक्ने बालिका पछिल्लो समय एकाएक हिँड्न नसक्ने अवस्थामा पुगेकी थिइन् । उनको उपचारको लागि परिवारले विभिन्न ठाउँमा उपचार समेत गरेको थियो । तर, उनको विराम निको भएन ।
त्यसपछि उनलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज ल्याइएको थियो । उनको पेडियाट्रिक न्युरोलोजिस्ट डा. सन्तोष मिश्रको टोलीले परीक्षण गरेको थियो । परीक्षणपछि उनलाई हाइपरम्याङ्गानेसेमिया भएको पुष्टि भयो । जुन रोग दुनियाँमै अत्यन्तै दुर्लभ मानिन्छ ।
यो रोग मस्तिष्क र स्नायु प्रणालीमा गहिरो असर पार्ने खालको हुन्छ र यसको उपचार अत्यन्तै चुनौतीपूर्ण हुन्छ । यद्यपि डा. मिश्र र उनको विशेषज्ञ टोलीले तत्काल उपचार प्रक्रिया सुरु गरे । केही हप्ताको उपचारपछि आध्या पूर्णरूपमा स्वस्थ भई पुनः हिँड्न सक्ने अवस्थामा पुगेकी छिन् ।
“छोरी कहिल्यै हिँड्न सक्दिन कि भनेर डराएका थियौँ, तर डा. सन्तोष मिश्रज्यूले आशाको उज्यालो फर्काइदिनुभयो,” आमा मनीषा विकले भनिन् ।
नेपालमा बाल न्युरोलोजी सेवा अझै प्रारम्भिक चरणमा रहेको बेला, यति जटिल रोगको सफल पहिचान र उपचार ऐतिहासिक मानिएको छ । डा. मिश्र बालबालिकामा देखिने मस्तिष्क, स्नायु प्रणाली, विकासजन्य विकार र मिर्गौला सम्बन्धी समस्याका विशेषज्ञ हुन् ।









