कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङ्गले हिजो प्रस्तुत गरेका वार्षिक नीति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ ।

छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरे । उनले आफूहरू प्रतिपक्षको भूमिकामा रहे पनि सरकारलाई रचनात्मक सहयोग गर्ने बताए ।

नेता आङ्बोले सरकारले नीति तथा कार्यक्रममा कुनै क्षेत्रलाई प्राथमिकतामा नराखेकाले सरकारले बनाउने बजेट वितरणमुखी हुने सम्भावना बढेको बताए । उनले गरिबी निवारण, रोजगारी सिर्जना, बसाइँसराइका विषयमा राम्रो अवधारणा नआएको बताए ।

कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरी, किशोरचन्द्र दुलाल र खिनु लङ्वा लिम्बूले नीति तथा कार्यक्रमको समर्थन गर्दै सरकार जनताप्रति उत्तरदायी रहेको, प्रदेशप्रति जनताको आस्था बढ्ने र नीति तथा कार्यक्रम सन्तुलित रहेकाले प्रदेशको उत्रति हुने विश्वास व्यक्त गरेका थिए ।

छलफलमा भाग लिँदै गीता तिमिल्सिना र प्रेमराज थाम्साङले नीति तथा कार्यक्रमको आलोचनात्मक टिप्पणी गरे ।

शून्य समय
बैठकको शून्य समयमा मुलुकको समसामयिक विषयमा सबीना बजगाँइ, गोपालबहादुर विश्वकर्मा, खगेश्वरी पौडेल, मीना श्रेष्ठ, इन्द्रमणि पराजुली, शीलादीक्षित कार्की, रमेशकुमार बस्नेत, शोभा चेम्जोङ र कमलप्रसाद जबेगुले बोल्नु भएको थियो ।

प्रदेशसभाको अर्को बैठक यही जेठ ७ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 17 =