विचार

हाम्रो जेन–जी पुस्ता– ‘पढेर हात्ती ठुलो भएको हो र ?’

सामाजिक संजालसङ्ग सायद तपाईंहरु सबै अभ्यस्त नै हुनुहुन्छ– यसो कहिलेकाही कुनै पोष्टमा कमेन्ट पढ्ने गर्नुभएको छ ? सायद पढ़नुहुन्छ । बिना तथ्य, बिना जानकारी हचुवाको भरमा गरीएका कमेन्ट अहिलेसम्म कतिचोटी पढ्नुभयो ? अर्थात् नेपालीमा एउटा उखान छ नि कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने– हो त्यस्तै कमेन्ट । कसैको गरीमाको ख्याल नगरी, कसैको ईज्जतको परबाह नगरी हामी मनमा जे आयो हामी त्यै बोलिहाल्छौ तर त्यसको तथ्य क्षितिजपारीको सुर्य जस्तै हुन्छ । हामीलाई हेक्का नै हुदैन हामीले बोल्ने शब्द–हामीले लेख्ने कुरा कति सहि कति गलत भनेर तर फलानोले भनेजस्तै त होला भन्दै होला मा विश्वास गर्दै हामी गालीगलौजमा उत्रीन पनि पछी पर्दैनौ । तर हामीले बोलेको/लेखेको कुरामा तेस्रो व्यक्तिले आएर हामीलाई तथ्य सम्झाईदिन्छ अनि हामीलाई थाहा हुन्छ– ए यो त गलत रहेछ । तर गलत हुन्जेल हामीले बोलेको कुरा डढेलो झैँ जताजतै सल्किसकेको हुन्छ ।

अहिले हाम्रो पुस्तामाँझ शब्दहरू बोल्न थाल्दा किताबका अक्षरहरू नै टाढा हुन थाले। विचार पोख्न सक्ने क्षमताभन्दा मनोरञ्जनको तड्किलो बजार ठूलो भयो। नयाँ पुस्ताको हातमा किताब होइन, मोबाइलको स्क्रिन छ । आँखा किताबको पाना हेर्नभन्दा छोटो भिडियोमा अडिन्छ। अनि प्रश्न उठ्छ—नयाँ पुस्ता किन पढ्दैन ? अर्थात् हामी जेंजी भनिएको पुस्ता पुरै वाक्य छोडेर शब्दमा मात्रै कसरी सिमित रह्यौं ? पुरै अनुच्छेद बिर्सेर एउटा वाक्यको भरमा किन हचुवाको भरमा लाटोकोसेरो बनिरहेका छौँ ? पुरै पन्ना पढ्न छोडेर एउटा अनुच्छेदमा हाम्रो पुस्ता किन अड्किरहेको छ ? अनि पुरै किताब घरको कुनामा मिल्काएर एउटा पन्नाको भरमा हामी भिडसङ्गै किन हिनिरहेका छौँ ?

यो प्रश्न केवल पुस्तक र पाठ्यक्रमको सन्दर्भमा होइन, जीवनको अध्ययन, अनुभूतिमा आधारित बुझाइ र सोचमा आधारित बौद्धिकतासम्मको सवाल हो। हाम्रो पुस्ताको मन, चेतना र समय किन किताबबाट टाढा हुँदैछ ? किन पुस्तकहरूको बास्नाले उनीहरूलाई खिच्न सक्दैन ?

पढेर हात्ती ठुलो भएको हो र ?

पढ्नुपर्छ भन्दा ‘ पढेर हात्ती ठुलो भएको हो र ? ‘ जानेर या नजानेर, जानमा या अन्जानमा हाम्रो पुस्ताको अधिकांश जेन्जीहरुको रेडिमेट उत्तर हो यो । झट्ट सोच्नुस् त ! साच्ची पढेर हात्ती ठुलो भाको हो र ? – होईन । तर नयाँ पुस्ताले सोच्नुपर्ने सानो कुरा – नपढेर आर्टिफिसियल ईन्टीलिजेन्स (एआई) बनेको हो र ? नपढेर विज्ञानमा आईन्सटाईनले गुरुत्वाकर्षणको नियम प्रतिपादित गरेका हुन् र ? नपढेर निल आर्मस्ट्रङलाई एपोलो ११ लुनार मोडलले चन्द्रमामा पुर्याएको हो र ? अध्ययन बिनै माक्र्सले वर्गसिद्दान्त लेखेका हुन् र ? यी त २/३ वटा मात्रै दृष्टान्त हुन्, यस्ता लाखौ दृष्टान्त हामीमाँझ छन्, जसले पढेर हात्ती ठुलो भएको हो र भन्ने प्रश्नलाई निस्तेज पारीदिन्छन्।

आज समयको यस्तो छायामा उभिएको छ हाम्रो पुस्ता, जहाँ यथार्थ कम भ्रम बढि छ । साँच्चिकै परिवर्तन ल्याउने नयाँ पुस्ता बन्ने कि केवल ईतिहासका गल्लीमा हराइरहेको गन्हाउने चिन्ह बन्ने त्यो अभिभारा पनि हाम्रै पुस्तामाथि छ। हाम्रो पुस्ता कहाँ जान खोज्दैछ ? यो प्रश्न केवल आत्मविश्लेषणको लागि होइन, सिंगो समाजको रेखाचित्र कोर्न खोजिएको गम्भीर चिहानजस्तै हो, जसमा हामी सबैले कहिल्यै भुल्न नसकिने अकालमा मरेका सपना, अधुरा संघर्ष, अनि काँचो आशाका किरणहरू र अनुहारहरू छन् । अहिले फेरीएको र बदलिएको काँचुलीमाथि उभिएर हामी भनिरहेका छौ – समय बदलिएको छ। हो, समयले रङ फेरेको छ। प्रविधिका उछालहरू, सामाजिक सञ्जालका चकाचौंध, अनि ‘हासो’ देखाउने भ्रामक चिजहरु जताततै भेटिन्छन् । सबै मिलेर एउटा क्षणिक दलदल तयार पारीएको छ, जुन देख्नमा सुनौलो लाग्छ तर भित्रभित्रै पानी नभएको रित्तो गाग्री जस्तै बनेको छ ।

अँ साँच्ची नयाँ पुस्ता भन्नाले के बुझिन्छ ?

उमेरको आधारमा केही जवान अनुहारहरुले हातमा मोबाइल लिएर ‘रिल’ बनाउँदै हिँड्ने पुस्ता नयाँ पुस्ता हो ? अथवा च्याट जीपिटीसङ्ग मागेर या अरु कसैको बौद्दिक सम्पत्ती चोरेर फोटो र भिडियो को माथि रमाईलो/मनछुने क्याप्सन लेख्ने पुस्ता नयाँपुस्ता हो ? कि त्यो पुस्ता हो– जसले सोचमा, कर्ममा, दृष्टिकोणमा नयाँपन देखाउछ ? लु बिच्चमा एउटा देउडा पढ्नुहोस् ।

‘ न हाल्याका भाग, रित्तिनु मुइ कन पण्यो…’
‘ क्या कराउन्छै काग, आउन्या कोई नै जान्या कोई नै …’

अर्थात् भाग नलगाएर पनि रित्तिनु मैले नै पर्यो , किन कराउछ्स काग, आउने जाने कोही छैन ।
यो उ जमानाको हाम्रो गाँउको चर्चित देउडा हो । गाँउमा एकबेला यस्तो पनि थियो अरे जुनबेला काग कराएकै भरमा बाहिर भएको मान्छे/पाहुना घर आउन लागेको अनुमान लगाईन्थ्यो अनि घरमा मिठो मसिनो खाना पाक्थ्यो । उसो त परेवालाई चिठ्ठी लेखेर दीइन्थ्यो रे अनि परेवाले चिठ्ठी सम्बन्धीत ठाउमा पुर्याईदिन्थ्यो रे ! त्यसपछि हुलाकमार्फत चिठ्ठी पठाएको त तपाईं÷हामी सबैलाई थाहा नै छ । तर अहिलेको हाम्रो पुस्तालाई चिठ्ठी लेख्न आउँदैन । अर्थात् जेन्जी भनिएको हाम्रो पुस्ता चिठ्ठी लेख्न बिर्सीसक्यो । आजको हाम्रो पुस्तालाई मोबाईल/ल्यापटप या यस्तै अन्य प्रविधीबाट बाहिर निस्किने फुर्सद नै छैन । जेन्जी पुस्ताले चिठ्ठी लेख्दै बस्नुपर्छ भन्न चाहिँ खोजेको होईन तर चिठ्ठी लेख्नै नआउने पुस्ता जेन्जी पुस्ता पनि हुन सक्दैन।

अँ चिठ्ठी भन्ने बित्तिकै महेश कुमार आउजी र देवी घर्तीले गाएको एउटा पुरानो देउडाको याद आयो । देउडा यस्तो छ –

‘फूल फूलेर फल लाग्यो कि चिठीपत्र लेखिदिया
सुन्तली बोटमा मेरी सुर्ता जनलिया ।
‘ क्या छ प्यारी हालखबर चिठीपत्र लेखिदिए
हाम्रा श्रीकोटमा मेरी सुर्ता जनलिया ।’

हो कुनै दुईमत छैन आजको पुस्ता डिजिटल युगमा जन्मिएको हो। सूचनाको समुद्र सजिलै मोबाइलको स्क्रिनमा आउँछ। गुगलले सबै उत्तर दिन्छ, यूट्युबले सिकाउँछ, टिकटकले बुझाउँछ। यस्तो अवस्थामा किताबको अक्षर पढ्न धैर्य राख्नुपर्ने काम हाम्रो पुस्तालाई पुरानो कुनै प्रथा जस्तो लाग्छ। पढ्नू भनेको अब हाम्रो लागि समय खर्च गर्नु मात्र होइन, समय खेर फाल्नु जस्तो बन्दै गएको छ। हाम्रो पुस्तालाई किताबको एक पन्नाको गहिरो अध्ययनभन्दा मोबाईलको स्क्रिनको दुई मिनेटको भिडियो सजिलो लाग्छ। तर बाआमाले ‘ सुनारको सय साँट, ल्वारको एक साँट’ भन्नुहुन्थ्यो, हो त्यस्तै दुई मिनेटको मोबाईल स्क्रिनको भिडियो मात्रै हेरिरहने जेन्जी पुस्ताले दुई पन्नाको किताबी अक्षर पनि बढी प्रभावकारी हुन सक्छ भन्ने कुरा चाहि बिर्सिनु हुँदैन ।

हुन त च्याट जिपीटी/ डिपसिक जस्ता प्रविधिहरु पनि हाम्रै जेन्जी पुस्ताले बनाएको हो । तर हाम्रा जेन्जीहरु आधा गाली गर्नमा व्यस्त छन्, आधालाई आफ्नो बाध्यता पछिको पीडाबाट निस्कने समय छैन । हाम्रो जेन्जी यस्तो हुनुमा यो पुस्ताको मात्रै दोष भने हुँदै होईन ।

यसमा सबैभन्दा बढी कतै न कतै हाम्रो शिक्षा प्रणालीले हाम्रो पुस्तालाई यस्तो बनाएको हो भन्दा खासै गलत हुन जादैन । हामीकहाँ शिक्षा प्रणाली अझै पनि ‘पढेर पास गर्ने’ मा केन्द्रित छ। पढ्नेको अर्थ बुझ्ने होइन, याद गर्ने, जाँच दिने, र ग्रेडको पछाडि दौडिने भएको छ। यस्तो प्रणालीले सिकाइलाई दायित्व होइन, बोझ बनाउछ । नयाँ पुस्ता पढ्दैन किनकि देशको शिक्षा प्रणालीले पढाइमा उत्साह, सन्देश र प्रेरणा दिन सकेको छैन। विद्यालय र कलेजहरू पढाउनेभन्दा नम्बर दिलाउने कारखानाजस्ता भएका छन् । पढ्नेलाई पाठ्यपुस्तकको पर्खालले घेरिएको छ । जहाँ ज्ञान होइन, जाँचको तयारी गराईन्छ ।

अहिले त हात हातमा मोबाईल, कोठा कोठामा टि.भी. छन् तर एक समय थियो जतिबेला परदेश गएकाहरु घरदेश फर्किने बेलामा हातमा ठुलो टेप लिएर घर फर्किन्थे। केहि पछी हरेक घर घरमा रेडियो पुगे, जुनबेला रेडियोमा स्थानीय संगीतको र साहित्यको बहार गुन्जिथ्यो। घरको कुनामा किताबको ¥याक हुन्थ्यो, बुवाआमाले सन्तानलाई किताब पढ्ने बानी लगाउँथे। तर अहिले, बुवा–आमाले नै मोबाईल र टी.भी. को स्क्रिन छोड्दैनन्।

अहिले टिभी र मोबाइललाई दैनिक जीवनशैलीको अंग बनाईएको छ । भनिन्छ नि “ संगत गुनाको फल” हो त्यस्तै घरको त्यो वातावरणले स्वाभाविक रुपमा घरमा हुर्किएको/हुर्किरहेको बच्चाले पनि त्यही सिक्छ । अनि घरमै किताब नदेख्नेले कसरी पढ्ने बानी बसाल्न सक्छ?

हाम्रो जस्तो समाजमा सस्तो मनोरञ्जन कै खातिर टिकटक, इन्स्टाग्राम, युट्युबजस्ता सामाजिक संजाललाई आचरण र नैतिकता विचलनका माध्यमका रुपमा स्थापित गरीएको छ । तर यी केवल मनोरञ्जनका माध्यम मात्रै होइनन्, मानसिक ध्यान तान्ने यन्त्रहरू पनि हुन्। किताब पढ्न ध्यान, शान्ति, समय र रुचि चाहिन्छ। तर जब आँखाहरुले सधैं झिलिमिली र आकर्षक स्क्रिनको संसार देख्छन , तब अक्षरहरूको संसार फिक्का लाग्नु स्वभाविक हुन्छ ।

हाम्रो पुस्ताको दिमागमा ‘डोपामिन’ सिग्नलको बाढी छ। दुई सेकेन्डको रमाइलोका पछि हामीहरु लामो समय पढ्नमा ध्यान केन्द्रित गर्न सक्दैनौ । तर पढ्न नसक्नु केवल बानी होइन, यो डिजिटल लतको दुष्परिणाम पनि हो। जसले आवश्यक सिप र ज्ञानको अभावमा समाज हाक्नपर्ने पुस्तालाई बेरोजगारी र विदेश पलायनको बाटोमा हिनाईरहेको छ भने सङ्गै डिप्रेसन, एन्जाईटी जस्ता मानसिक रोगको सिकार पनि बनाईरहेको छ ।

राज्यले अहिले पनि कर्णालीलाई कुल्चिन्छ । राज्यसत्ता संचालन गर्नेहरुका डाकाहरुमा अहिलेपनि सुदुरप्रतिको हेपाहा प्रवृत्तिका भाकाहरु गुन्जयमान भई नै रहन्छन् । ग्रामीण क्षेत्रमा आज पनि किताबहरू सहजे उपलब्ध हुदैनन् । ग्रामिण भेगमा आजपनि पुस्तकालयहरू बनाईएका छैनन्, बनाईएका पुस्तकालयमा किताब छैनन्, किताब भएका पुस्तकालयहरुमा युवाहरु छिर्दैनन्र । शिक्षा प्राणालीले पाठ्यपुस्तकबाहेक अन्य किताब नपढाउने नीति अङ्गालेको छ । अहिले पनि देशका धेरै ठाँउका बालबालिका र युवाहरूमा किताब पढ्ने रुचि त होला, तर कहाँबाट पढ्ने भन्ने विकल्प चाहिँ छैन ।

आजको समाजमा हाम्रो पुस्तामाँझ किताब पढ्ने व्यक्ति गम्भीर या बोरिङ ठानिन्छ। किताब पढ्छस्? धेरै बुद्धिजीवी बनेको छस् है !’ भन्ने व्यङ्ग्य हामीले कति सुनेकाछौँ। हाम्रो पुस्ताका आँखाले पढ्नेलाई हैन क्लबिङ, पार्टी गरी हिड्ने मान्छेलाई बहुत रुचाउछ । रक्सीको गन्धसङ्ग झुमेर बस्नु हाम्रो देशको जेन्जी पुस्ताको विशेषण हो । तर हाम्रो समाजको जेन्जी पुस्ताले बुझ्नुपर्ने कुरा पढाइ भनेको केवल किताबको अक्षर होइन, त्यो आत्मा नुहाउने नदी हो। किताब पढ्नु भनेको आफूलाई चिन्ने यात्रा हो ।

अब फेरि एकचोटि ‘पढ्ने’ संस्कारलाई जीवनको केन्द्रमा ल्याउन जरुरी छ। किनभने पढ्ने पुस्ता हरायो भने, सोच्ने पुस्ता पनि हराउँछ। सोच्ने पुस्ता हरायो भने समाज र समाजको भविष्य पनि हराउछ। समाजको भविस्य हरायो भने भाषा हराउछ, कला साहित्य हराउछ, संस्कार हराउछ र समाजको पहिचानै हराउछ।

अनि यसो कल्पना गर्नुस्, त गाली मात्रै सुनिने, अराजकता मात्रै देखिने, हावा मात्रै चल्ने ,बकम्फुसे कुरा मात्रै हुने अनि संस्कार, कला, साहित्य, भाषा आदि बिर्सेर पहिचानै गुमाएको समाजको दशा कस्तो होला ?

कहिलेकाहीँ यसो सोच्नुस् त– हामी केवल रील प्रदर्शनको पुस्ता मात्रै हौं ? कि टिकटकको रमिताले समाज परिवर्तन हुन्छ ? टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबमै रुमलिएर र नाङ्गो नाच देखाएर समाज बदलिन्छ ? हामी परिवर्तनका नाराहरू बोल्छौँ, तर व्यवहारमा नाराहरु मृत हुन्छन्। (जसरी कांग्रेसको पछिल्लो पुस्ता माझ बिपिवाद, एमालेको नयाँ पुस्तामाझ बहुदलीय जनवाद, माओवादीमा माओवाद मृत छन्।) उसो त वाद नै नभएकाहरु पनि छन् तर उस्तै छन्। खैर, यो थोरै राजनैतिक कुरा भयो। हाम्रो विचारमा क्रान्ति छ, तर आचरणमा……….?

हाम्रो पुस्ता प्रश्न गर्छ तर उत्तर खोज्दैन। विरोध गर्छ तर विकल्प देखाउँदैन। नेतृत्वको कुरा गर्छ तर आफैँ अगाडि बढ्दैन । समस्या देख्छ तर समाधान देख्दैन। हल नै नहुने कुनै समस्या छ र दुनियाँमा ? अनि समस्याको समाधान नै नखोज्ने हामी ‘नयाँ पुस्ता’ बन्न सकिन्छ?

नयाँ पुस्ताको परीचय केवल प्रविधिमा मात्र होइन, भाषा,कला, साहित्य जस्ता विभिन्न मंचका प्रयोगमा पनि देखिनुपर्छ।हामीले आफ्नो ठाँउ÷ समाज बिर्सीदैछौ तर आफैलाई बिर्सेर आफुलाई बनाउन कदापी सकिदैन । हामी बन्नु भनेको हाम्रो समाज बन्नु हो। हामी अहिले एउटा दोबाटोमा छौं– जुन दोबाटोमा एकातिर आधुनिकताको नाममा गहिरिँदै गएको खोक्रोपन, अर्कोतिर चेतनाको चिसो बगैंचा। हामी के बन्ने ? केवल बजारिया उपभोक्ता, आत्मकेन्द्रित, आत्मरत पुस्ता कि विचारशील, उत्तरदायी, र नवप्रवर्तनशील पुस्ता ? यसको उत्तर हामीले नै दिनुपर्छ। हरेक दिन, हरेक कर्ममा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =