धना वादीले ५५ वर्षको उमेरमा पाइन् नागरिकता

बाजुरा । जिल्लाको गौमूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् ।
सोही गाउँपालिका–४ मानाकोटकी वादीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले आज नागरिकताको प्रमाणपत्र प्रदान गरेका छन् ।
नागरिकता बनाउनसनाखत गर्ने कोही नहुँदा उहाँले नागरिकता प्राप्त गर्न सक्नुभएको थिएन । माइती घर डोटीको सिलगढी भए पनि विवाह गरेर बाजुरा आएकी वादी श्रीमान् र आफन्त कोही नभएपछि नागरिकता पाउनबाट वञ्चित भएकी थिइन् ।
आज प्रमुख जिल्ला अधिकारी पाध्याले कानुनी प्रक्रिया पूरा गरेर नागरिकता दिलाएपछि उनले खुसी व्यक्त गरिन् ।
नागरिकता पाउनबाट वञ्चित जिल्लाका नागरिकलाई सहज र कानुनी प्रक्रिया पूरा गरेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।
नागरिकता नहुँदा उनि राज्यबाट पाउने सामाजिक सुरक्षासहित अन्य सुविधाबाट वञ्चित भएकी थिइन् ।








