सडकमा देखिने असन्तुष्टि र निराशा बजेटमार्फत सम्बोधन गरौँ : नारायण खड्का

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. नारायण खड्काले सरकारको नीति तथा कार्यक्रम समग्र रुपमा राम्रो आएको भए पनि मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने खालको कुनै कार्यक्रम नभएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले मन्त्रालयगत रुपमा सबै विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको भए पनि विकासको लक्ष्य र उद्देश्य पूरा गर्ने गरी कुनै कार्यक्रम नभएको बताए ।

उनले आर्थिक रुपमा देखिएका विविध समस्यालाई समाधान गर्ने गरी नीति तथा कार्यक्रम केन्द्रित नभएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध बोल्नेमाथि सरकारले प्रतिवाद गर्ने कुरा नीति तथा कार्यक्रममा समेटिनु सही नभएको बताए ।

उनले सडकमा देखिने जनताका असन्तोष र निराशालाई सरकारले लुकाएर नलुक्ने बताए । युवाका असन्तुष्टिलाई बजेटमार्फत सम्बोधन गरेर व्यवस्थालाई बलियो बनाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘समग्रमा यसमा २४ सै मन्त्रालयका कुराहरू आएका छन् । मन्त्रालयले दिएका कुराहरू जोड घटाउनको रुपमा राखिएको छ । तर त्यसमा समष्टिगत रुपमा हेरेर सरकारले के हो त अब सरकारको ड्राइभ ? इन्जिन अफ ग्रोथ ? विकासलाई हाँकेर लाने कुन मन्त्रालयले कुन प्रोग्रामले गर्छ भन्ने कुरा कहीँ पनि उल्लेख छैन । महत्वकांक्षी योजना ऊर्जामा पनि छ । कृषिमा पनि कार्यक्रमहरू छन् । तर कुन चाहीँ मन्त्रालय हो जसले यसलाई ड्राइभ गरेर लान्छ र हाम्रा आर्थिक समस्याहरू सामूहिक समस्याहरूलाई समन्वय गरेर अगाडि बढ्छ भन्ने कुरा त्यो फोकस मैले नीति र कार्यक्रममा पाइनँ । अर्को कुरा हामीले केही हेर्नु पर्ने कुराहरू नीति तथा कार्यक्रम बनाउँदा होस् वा बजेट बनाउँदा होस् सरकारले वा हामी गठबन्धनमा रहेका दलहरूले हेर्नुपर्ने कुरा के हो भने पृष्ठ २ र ३ मा मैले पाएँ, अराजक, अवाञ्छित, नकारात्मक टीकाटिप्पणी गर्नेहरूका बारेमा सरकार दृढ उभिन्छ, प्रतिवाद गर्छ भनेर । तर पनि यसले युवाहरूमा सडकमा युवाहरूको धेरै ठुलो निराशा असन्तोष छ त्यसलाई हामीले लुकाएर हामी सरकारमा बसेका पार्टी होस् वा मन्त्रीहरू र प्रधानमन्त्रीले पनि ती कुराहरू नलुकाउ, लुकाएर लुक्दैन । त्यो निराशा असन्तोषलाई सम्बोधन गर्ने कसरी डेलिभरी बढाउन सकिन्छ कसरी सेवा र वस्तुहरूको प्रदाय बढाएर त्यो सडकमा आएको निराशा र असन्तोषको भीड छ त्यसलाई सम्बोधन गरेर यो हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई संगठित र संस्थागत अनि दृढतापूर्वक अगाडि बढाउने भन्ने कुराहरू गर्ने कुराहरू छन् त्यतापट्टि आगामी बजेटले एड्रेस गर्ला भन्ने मलाई लाग्छ ।’

सांसद खड्काले नेपालमा रहेका ७० लाख युवा जनशक्तिलाई रोजगारी लगायत विभिन्न अवसरहरू सिर्जना गर्ने गरी बजेट आउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =