महिला टी-२० विश्वकप छनोटको पहिलो खेलमा हङकङको सामना गर्दै नेपाल

काठमाडौं । थाइल्याण्डमा आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो यात्रा हङकङविरुद्धको खेलबाट सुरु गर्दैछ । टेक्नोलोजी ग्राउण्ड, बैंककमा बिहान सवा ८ बजे सुरु हुने खेल आईसीसी टिभी मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।

यस क्षेत्रीय छनोट प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत गरी ९ टोली सहभागी छन् । टोलीहरूलाई तीन समूहमा विभाजन गरिएको छ, जसअनुसार नेपाल समूह ‘सी’ मा हङकङ र बहराइनसँग परेको छ ।

समूह चरणमा डबल राउण्ड रोबिन प्रणाली अनुसार खेल हुनेछ । प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोली सुपर ३ चरणमा प्रवेश गर्नेछ । त्यसपछि सुपर ३ मा उत्कृष्ट प्रदर्शन गर्ने दुई टोली ग्लोबल छनोट चरणमा पुग्नेछन्, जहाँ विश्वकप स्थानको लागि थप प्रतिस्पर्धा हुनेछ ।

नेपालले प्रतियोगिताअघि भारतमा अभ्यास खेल खेलेको थियो भने घर तथा विदेशी माटोमा श्रृंखला खेल्दै तयारी गरेको थियो । टोलीको कप्तानी इन्दु बर्मा ले सम्हालेकी छन् ।

नेपालको टोली यस्तो छ:
इन्दु बर्मा (कप्तान), पुजा महतो, बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, रुबी पोदार, राजमती ऐरी, कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, मनिषा उपाध्याय र रिया शर्मा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =