भारत-पाक तनाव चर्किँदा संयुक्त राष्ट्रसंघको सन्देश- संयम अपनाउनुस्

काठमाडौं । भारत सरकारले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल आक्रमण गरेको सार्वजनिक जानकारीसँगै भारत-पाकिस्तानबीचको तनाव चरम सीमामा पुगेको छ । यस घटनापछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिँदै दुबै देशलाई संयमताका साथ अगाडि बढ्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले मंगलबार जारी विज्ञप्तिमा भने, ‘महासचिव गुटेरेस नियन्त्रण रेखा तथा अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीप्रति गहिरो चिन्तित छन् ।’ उनले दुबै देशलाई सैन्य शक्ति प्रयोगमा अधिकतम संयमता अपनाउन आह्वान गरे ।

दुजारिकले चेतावनी स्वरूप थपे, ‘भारत र पाकिस्तानबीचको कुनै पनि प्रकारको सैन्य भिडन्त न केवल दक्षिण एशिया, तर सम्पूर्ण विश्वका लागि असह्य हुनेछ ।’

यसअघि, मे ५ मा महासचिव गुटेरेसले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत एक सन्देश जारी गर्दै पछिल्लो समय भारत र पाकिस्तानबीचको द्वन्द्व पछिल्ला वर्षहरूकै गम्भीर अवस्थामा पुगेको टिप्पणी गरेका थिए ।

उनले २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी हमलाको पनि कडा शब्दमा निन्दा गरेका थिए । दुवै देश परमाणु हतियार सम्पन्न राष्ट्र भएकाले यस्ता द्वन्द्वको अन्तर्राष्ट्रिय चिन्ता दिनप्रतिदिन बढ्दै गएको छ । शान्ति र स्थायित्व कायम राख्न विश्व समुदायले भारत र पाकिस्तान दुबैलाई कूटनीतिक संयमता र संवादमार्फत समस्या समाधान गर्न आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =