अन्तिम बलसम्म पुगेको नाटकीय खेलमा गुजरातद्वारा मुम्बई पराजित

काठमाडौं । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा हालसम्मकै सबैभन्दा नाटकीय खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई तीन विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ। वर्षाले प्रभावित र पटक–पटक अवरुद्ध खेलमा गुजरातले अन्तिम बलमा लक्ष्य पूरा गर्दै रोमाञ्चक जित दर्ता गर्यो।
मंगलबार राति वर्षाका कारण पटक–पटक रोकिएको खेललाई १९ ओभरमा झारिएको थियो। मुम्बईले दिएको १५६ रनको लक्ष्य गुजरातले सात विकेट गुमाउँदै १४७ रन बनाएर पुरा गर्यो। अन्तिम बलमा अर्सद खानले एक रन लिएर टोलीलाई जित दिलाएका थिए।
वर्षा सुरु हुँदा गुजरातले १४ ओभरमा दुई विकेट गुमाएर १०७ रन बनाएको थियो। त्यस समयमा डकवर्थ लुइस प्रणालीअनुसार गुजरात ८ रनले अघि थियो। खेल पुनः सुरु भएपछि भने मुम्बई खेलमा नाटकीय रूपमा फर्कियो।
१५ औँ ओभरमा जसप्रित बुमराहले कप्तान शुभमन गिललाई ४३ रनमा आउट गर्दै खेलको समीकरण बदल्न थाले। त्यसपछि गुजरात लगातार विकेट गुमाउँदै दबाबमा पर्यो। बोल्टले १६ औँ ओभरमा रुदरफोर्डलाई पवेलियन फर्काए भने बुमराहले १७ औँ ओभरमा साहरुख खानलाई आउट गरे। अश्वीन कुमारले १८ औँ ओभरमा रसिद खानलाई आउट गर्दै मुम्बईलाई फाइदा दिलाए।
मुम्बईले ओभर रेट ढिलाइ गरेकाले अन्तिम ओभरमा सर्कलबाहिर चार मात्र फिल्डर राख्न पाए। उक्त कमजोर फील्ड सेटिङको फाइदा उठाउँदै गुजरातले टार्गेट भेटायो। दीपक चाहरको ओभरमा टेबटियाले चौका, कोयट्जेले छक्का प्रहार गर्दै खेलको मोड नै बदलिदिए। नोबलसहितको ड्रामा पछि अन्तिम बलमा अर्सदले आवश्यक रन पुरा गरे।
कप्तान गिलले ४६ बलमा ४३ रन बनाउँदै इनिङको आधार निर्माण गरे। रुदरफोर्डले १५ बलमा २८, जोस बटलरले २७ बलमा ३०, र कोयट्जेले ६ बलमा १२ रन बनाए।
मुम्बईका लागि बुमराहले चार ओभरमा १९ रन खर्चेर दुई विकेट लिए भने बोल्ट र अश्वीनले समान दुई–दुई विकेट लिए।
घरेलु वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ८ विकेट गुमाएर १५५ रन जोड्यो। विल ज्याक्सले ३५ बलमा ६३, सूर्यकुमार यादवले २४ बलमा २७, र करबिन बोस्कले २२ बलमा २७ रन बनाए। गुजरातका साई किशोरले दुई विकेट लिए।
यो जितसँगै गुजरातले ११ खेलमा १६ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। मुम्बईले १२ खेलमा १४ अङ्कसहित चौथो स्थानमा सिमित भएको छ। सुरुआतमा कमजोर प्रदर्शन गरेको मुम्बईले पछिल्ला ६ खेलमा लगातार जित निकालेको थियो।








