राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा आर्मी र गण्डकी फाइनलमा

काठमाडौं । नेपाल आर्मी क्लव र गण्डकी प्रदेश मंगलबार राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

ललितपुरको च्यासल फुटबल मैदानमा मंगलवार सम्पन्न सेमिफाइनलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै आर्मी र गण्डकी फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनलमा काशिराज राईको ह्याट्रिकमा आर्मीले एपिएफलाई ६–० लाई हरायो ।

राजेन्द्र कार्कीले दुई र प्रदीप राजवंशीले एक गोल गरे । आर्मीका देवसिंह धामी प्लेयर अफ द म्याच भए । आर्मीले खेलको पहिलो हाफमा नै चार गोल गर्दै दबाब बनायो ।

दोस्रो हाफमा भने आर्मीले दुई गोल थप्दै रबाफिलो जित निकाल्यो । दोस्रो सेमिफाइनलमा गण्डकीले नेपाल पुलिस क्लबलाई सुटआउटमा २–१ ले हराउँदै उपाधि भिडन्त तय गरेको हो । निर्धारित ६० मिनेटको खेलमा गोलरहित बराबरीमा नै सकियो ।

पेनाल्टी सुटआउटमा गण्डकीका संगम घर्ति र अशिम बाहिकले गोल गरे । पुलिसका लागि भने सुरज बोहराले मात्र गोल गर्न सफल भए ।

अब बुधवार नै गण्डकी र आर्मीबीच उपाधि भिडन्त हुनेछ । सेमिफाइनलमा पराजित पुलिस र एपिएफ भने तेस्रो स्थानको लागि बुधवार नै प्रतिष्पर्धा गर्नेछ । पुरुषमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । महिलामा भने आर्मीले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =