जमिन दबिएर गाडी ‘गायब’ भएको पाँचौ दिनमा भूगर्भविद्‍ले थाले अध्ययन

काठमाडौं । हेटौंडा उपमहानगरपालिका-१६ र १७ नम्बर वडाको सिमानामा पर्ने गैरीगाउँमा जमिन भासिएर बोलेरो गाडी बेपत्ता भएको घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको चार सदस्यीय विशेषज्ञ टोली घटनास्थलमा पुगेको छ । घटनाको पाँचौं दिनमा नारायण अधिकारीको नेतृत्वमा टोलीले अनुसन्धान सुरु गरेको हो ।

शुक्रबार दिउँसो ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो पिकअप गाडी सडकमा गुड्दागुड्दै एक्कासी जमिन भासिएर हराएको थियो । गाडीका धनी हरिराम राईका अनुसार गाडी अझै फेला परेको छैन । गाडी भासिएको ठाउँमा अहिले ठूलो खाल्डो बनेको छ, जुन धमिलो पानीले भरिएको छ ।

घटनास्थलको अनौठो प्रकृतिले सर्वसाधारणको चासो बढाएको छ । जमिन चलायमान भएपछि यस्तो घटना घट्न सक्छ भन्ने अनुमान गरिए पनि वास्तविक कारण पत्ता लगाउन वैज्ञानिक अध्ययन आवश्यक भएको भूगर्भविद् अधिकारीले बताएका छन् । उनका अनुसार टोलीको अध्ययन भू-बनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र लगायतका पक्षमा केन्द्रित रहनेछ। त्यसका लागि प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी चुम्बकीय क्षेत्र र जमिनभित्र रहेका अन्य पदार्थहरूको अवस्था पनि विश्लेषण गरिनेछ।

गाडी बेपत्ता भएको दुई दिनपछि मात्रै हेटौंडा उपमहानगरपालिकाले विपद् व्यवस्थापन समिति बोलाएर भूगर्भविद्को सहयोग लिने निर्णय गरेको थियो । हाल भूगर्भ विभागको टोलीले आवश्यक डेटा संकलन गरी घटनाको वैज्ञानिक पृष्ठभूमि पत्ता लगाउने प्रयास गरिरहेको छ ।

स्थानीय बासिन्दाहरू भने अझै त्रसित छन् । ‘सडकमै गाडी हराउँछ भन्ने कल्पना पनि गरेका थिइनौं,’ एक स्थानीय बासिन्दाले भने, ‘अब त हिँड्न पनि डर लाग्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =