नीति तथा कार्यक्रममा वामदेव गौतमको आलोचनात्मक समर्थन

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नीति तथा कार्यक्रममा निराशा मात्रै देखिएको बताएका छन् ।
सोमवार राष्ट्रिय सभा बैठकमा सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै उनले यस्तो बताएका हुन् । उनले देशभर सिर्जना भएका समस्याहरुको समाधान दिने गरी नीति तथा कार्यक्रम नआएको बताए ।
उनले समाजवाद निर्माणका लािग मार्ग निर्देशन हुनेगरी नीति तथा कार्यक्रमले कतै पनि नबोलेको बताए । उनले नीतिगत पक्ष बलियो भएपनि कार्यक्रमको पक्ष कमजोर भएको बताए ।
विश्वव्यापी रुपमा नेपालको इज्जत प्रतिष्ठामा आँच आउने गरी भइरहेका भ्रष्टाचार अन्त्यका लागि नीति तथा कार्यक्रममा कुनैपनि कार्यक्रम नभएको उनको भनाइ छ ।
उनले कर्मचारी, चिकित्सक, शिक्षक लगायतले विभिन्न माग राखेर भइरहेका आन्दोलनलाई समाधान गर्ने गरी कुनै पनि कार्यक्रम नभएको बताए ।
राष्ट्रिय सभा सदस्य गौतमले पूर्वराजा ज्ञानेन्द्रले जस्तै गद्दि फर्काइदेउ भनेर मल्लहरु, लिच्छवीहरु तथा २ हजार वर्ष शासन गरेका किराँतले पनि गद्दि माग्नसक्ने भन्दै इतिहासले औचित्यहिन पुष्टि गरिसकेका संस्थालाई चलमलाउन नदिने गरी कानून निर्माण गर्नुपर्ने बताए ।








