नीति तथा कार्यक्रमबारे प्रचण्ड : परम्परा धान्ने र औपचारिकता पूरा गर्ने खालको मात्रै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनअपेक्षा विपरीत परम्परा धान्ने र औपचारिकतामै सीमित हुने खालको रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन् ।
उनले नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयवस्तुले देशको अर्थतन्त्रका सामु देखिएका जटिलता र जनस्तरमा चुलिएको असन्तोष सम्बोधन गर्न नसकेको टिप्पणी गरे ।
उनले नीति तथा कार्यक्रमले ल्याउने क्रममा सरकारले राष्ट्रका महत्वपूर्ण पक्षहरू बिर्सिएको आरोप समेत लगाए । उनले दुई तिहाइको अहंकार बोकेर कुशासनको घोडामा कुदिरहेको सरकार अहिले आफैँभित्रबाट एक्लिए अध्यक्ष दाहालको भनाइ छ ।
उनले भने ‘दुई तिहाइको अहंकार बोकेर कुशासनको घोडामा कुदिरहेको सरकार अहिले आफैँभित्रबाट एक्लिएको अवस्थामा नीति तथा कार्यक्रम पनि परम्परा धान्न र औपचारिकता पुरा गर्न मात्र आएको देखिन्छ । यसले अर्थतन्त्रका सामु देखिएका जटिलता, जनस्तरमा चुलिएको असन्तोषलाई सम्बोधन गर्न सकेको छैन । नीति तथा कार्यक्रमले राष्ट्रको महत्वका महत्वपूर्ण पक्षहरूलाई बिर्सिएको छ । नीतिगत मार्ग निर्देशनका रुपमा नीति तथा कार्यक्रमको सुरुवातमा उल्लेख भएका क देखि ट सम्मका विषयहरूमा अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका कृषि, पर्यटन, जलस्रोत वन जस्ता क्षेत्रहरू तथा सामाजिक न्यायका मुद्दाहरू प्राथमिकतामा पर्न सकेका छैनन् ।’
उनले सरकारको नीति तथा कार्यक्रमले सरकारको सोच र राष्ट्रको दिशा निर्देश गर्ने बताए ।








