रास्वपाको प्रश्न : जिबी राईलाई पक्राउ गरेर कहिले नेपाल ल्याइन्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सहकारी ठगी संलग्न गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद पराजुलीले सरकार सञ्चालनको दश महिना पुग्दासमेत राईलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाए ।

उनले सरकारी ठगीमा संलग्न आफ्ना पार्टी कार्यकर्ता समेत मुछिने डरले सरकारले राईलाई पक्राउ नगरेको उनको आरोप छ । उनले सांसद पराजुलीले रास्वपाले सहकारी पीडितका मुद्दा उठाउँदै आएको र अघिल्लो वर्ष नै सरकारले पीडितको रकम फिर्ता गर्न सुझाव दिएको पनि स्मरण गराए ।

उनले भने ‘तपाइकै पार्टीले सरकार सञ्चालन गरेको दश महिना पूरा भइसक्यो । गितेन्द्रबाबु (जिबी) राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ? जनताले प्रश्न सोध्ने गरेका छन् । बाहिर आएअनुसार १६ अर्बमध्ये ७ अर्ब मात्र जिबी राईले आफूले ल्याएको र तिर्छु भन्ने सुनियो । ९ अर्बको भागेदार को को हुन् भन्ने तथ्यको उजागर हुने हुँदा जिबी राईलाई पक्राउ नगरिएको हो भनेर जनता त हल्ला गर्दैछन् नि । के त्यस्तै हो ? रास्वपाले सहकारीका समस्या समाधान गर्न आवाज मात्र उठाएको छैन । सहकारी पीडितको रकम नै फिर्ता गर्न सरकारलाई अघिल्लो वर्ष सुझाव नै पेस गरेको छ ।’

सहकारी ठगीमा संलग्न पीडकलाई कानुनी कठघरामा उभ्याउँदै पीडितहरूको बचत रकम फिर्ता गर्न सांसद पराजुलीले चेतावनीसहित सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =