काँग्रेस सांसद मिजारको प्रश्न– निर्माणाधीन संसद भवनको काम सुस्त हुनुमा जिम्मेवार को ?

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद सीता मिजारले सिंहदरबार परिसरभित्र निर्माण भइरहेको संघीय संसद भवनको प्रगति सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद मिजारले यस्तो बताएकी हुन् ।

उनले २०७९ मा सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको संसद भवन निर्माण आयोजनाको चौथोपटक म्याद थप हुँदा समेत जम्मा ८६ प्रतिशत मात्र भौतिक प्रगति भएको उल्लेख गरिन् ।

उनले संसदजस्तो संवैधानिक निकायको भवन निर्माणको अवस्था चिन्ताजनक रहेको भन्दै देशका अन्य भूभागमा निर्माणाधीन आयोजनाहरूको अवस्था कस्तो होला रु भन्दै प्रश्न गरिन् ।

उनले निर्माणाधीन भवन निर्माणमा भएको सुस्तताको जिम्मेवारी कसले लिने हो ? भन्ने स्पष्ट जवाफ पनि माग गरिन्।

भनिन् ‘सिंहदरबारको हाताभित्र २०७९ मा सम्पन्न गर्नेगरी निर्माण प्रारम्भ भएको संघीय संसद भवन निर्माण आयोजनाको हालसम्म चौथो पटक म्याद थप हुँदा समेत ८६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सबैको नजर पर्ने स्थानमा निर्माण भइरहेको र पटक पटक राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र संसदीय समितिले समेत अनुगमन र निरीक्षण गर्नुभएको यो आयोजनाको अवस्था एकदमै नाजुक छ । देशका अन्य भूभागका आयोजनाहरूको अवस्था कस्तो होला ? सभामुख महोदय यस्तो अवस्था कहिलेसम्म कायम रहन्छ ? र यसको जिम्मेवार को हुने हो ? यसको स्पष्ट जवाफको म माग गर्दछु ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद भवन निर्माणको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सक्ने लक्ष्यअनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिँदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसदका १२ वटा भवन निर्माण हुँदै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 1 =