छात्रालाई यौन प्रस्ताव राख्ने शिक्षक पक्राउ, पढाउने नाममा पछ्याइरहन्थे

काठमाडौं । चितवनको प्रतिष्ठित शैक्षिक संस्था नारायणी नमूना माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापकद्वारा आफ्नै छात्रामाथि यौनजन्य दुर्व्यवहार भएको खुलासा भएकाे छ ।
विद्यालयका सहायक प्रधानाध्यापक त्रिलोचन सापकोटाले १५ वर्षीया छात्रालाई फेसबुक म्यासेन्जरमार्फत अश्लील सन्देश पठाउनुका साथै होटलमा जाने दबाव दिएको उजुरी प्रहरीमा परेको थियो । आरोप अनुसार, सापकोटाले छात्राको बुबा घरमा नभएको मौका छोपी पिछा गर्दै आफन्तको घरसम्म पुगेका थिए । डरले बालिका ४५ मिनेट शौचालयमा लुकेर बसेकी थिइन् ।
पीडित छात्राले आफ्नो परिवारसँग घटनाबारे खुलस्त कुरा गरेपछि परिवारले साइबर अपराध अन्तर्गत उजुरी दर्ता गरेका हुन् । उजुरीकै आधारमा सापकोटालाई हिरासतमा लिइएको छ । उनीमाथि जिल्ला प्रहरी कार्यालय चितवनले म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको छ ।
त्रिलोचन सापकोटा विद्यालयको सहायक प्रधानाध्यापक मात्र नभई कक्षा १२ को परीक्षा केन्द्रका केन्द्राध्यक्षसमेत थिए ।








