लन्डनमा फेला परेको शव नेपाली विद्यार्थी सुशान ओलीको भएको पुष्टि

बेलायत । लन्डनको वाटरलु नजिकैको थेम्स नदी किनारमा फेला परेको शव नेपालका एक विद्यार्थीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औंठा छाप परीक्षणमार्फत उक्त शव रुकुम पश्चिम, मुसीकोट नगरपालिका-१२ निवासी २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको हो ।

नेपाली दूतावास, लन्डनका प्रवक्ता तथा उपनियोग प्रमुख विपिन दुवाडीले दिएको जानकारीअनुसार, मृतकको औंठा छाप नेपालको राहदानी विभागबाट मगाइएको अभिलेखसँग मिलेको पुष्टि भएपछि शवको पहिचान निश्चित भएको हो । गत मंगलबार थेम्स नदी किनारमा अन्दाजित उमेरको एक पुरुषको शव फेला परेपछि लन्डन प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको थियो ।

प्रहरी अनुसन्धानको प्रारम्भिक निष्कर्ष अनुसार, ओलीको मृत्यु आत्महत्या हुनसक्ने आशंका गरिएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको बताइएको छ । प्रवक्ता दुवाडीका अनुसार, ‘हालसम्मको अनुसन्धान र प्रमाणका आधारमा मृत्युलाई शंकास्पद मानिएको छैन, तथापि थप विवरण अनुसन्धानपछि मात्र सार्वजनिक गरिनेछ ।’

अप्रिल २१ देखि सम्पर्कविहीन रहेका ओलीको खोजी कार्यमा उनका सहपाठी तथा क्याम्पसका विद्यार्थीहरू सक्रिय थिए । उनीहरूले नै नेपाली दूतावास र लन्डन प्रहरीलाई जानकारी दिएका थिए । शव परीक्षण कार्य सम्पन्न भइसकेको र अब ओलीको शव नेपाल ल्याउने कि बेलायतमै अन्त्येष्टि गर्ने भन्ने विषयमा परिवारको रायअनुसार निर्णय लिने तयारी भइरहेको दूतावासले जनाएको छ । ओली उच्च शिक्षाको सिलसिलामा केही समयअघि मात्र बेलायत गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =