शिक्षक र सरकारबीचको सहमतिमा कर्मचारी परिषद्को विरोध

काठमाडौँ । सरकार र शिक्षक महासंघबीच बुधवार भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै विद्यालय कर्मचारी परिषद्ले विरोध जनाएको छ ।

सरकार र महासंघबीच बुधवार भएको सहमतिबारे जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाउँदै महासंघ नेतृत्वमाथि नाराबाजीसमेत गरे । विद्यालय कर्मचारीहरूले आफूहरूको माग समावेश नगरेको भन्दै प्रश्न उठाएका थिए ।

आफूहरूको माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाएको महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिए । उनले आन्दोलनको उपलब्धिबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए । सहअध्यक्ष पराजुलीले सरकारसँगको ९ बुँदे सहमति सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीको ऊर्जाको प्रतिफल भएको बताए । त्यसैले ऐन जारी नभए अझ ठूलो आन्दोलन चर्काउने स्पष्ट पारे ।

उनले आन्दोलन अझैपनि जारी रहेको र शिक्षक कर्मचारीको मागमा कुनैपनि हालतमा पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट छोटो समयमा पारित गर्ने र आफ्ना मागहरू सम्बोधन गर्ने विषयमा सहमति भएको उनको भनाई थियो ।

उनले भने ‘नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको ९ वटा बुँदाको निर्णय, नेपाल सरकारको तर्फबाट भएको प्रतिबद्धता र नेपाल शिक्षक महासंघले निकालेको विज्ञप्ति । नेपाल सरकारसँग एउटा सहमति गर्याै, आन्दोलन स्थगित हुने र अर्को सँगसँगै के लेख्यौँ भने असार १५ गतेभित्र प्रतिनिधि सभाबाट ऐन पारित भएन भने यो भन्दा सशक्त आन्दोलन गर्नेछौँ भनेर पनि लेखेका छौं । हाम्रो आम शिक्षक कर्मचारीको सडकबाट एउटै बोली छ त्यो भनेको आन्दोलन निरन्तर लैजानुपर्छ भनेर लेखेका छौं । हामीले सहमति गरेका कुराहरूमा हामी शिक्षक हौँ र शिक्षक कर्मचारी साथीहरू पढेर विश्लेषण गरौं भन्ने लाग्छ । दिनदिनै भनेका छौं आन्दोलन सुरु हुनुभन्दा अघि र पछि पनि भनेका छौं त्यसैले विद्यालय कर्मचारी साथीहरूको हितमा पनि हामीहरू लडिरहेको बताएकै छौं । बिरामी बिदा र परिचय कार्ड बनाउने कुरा पनि नियुक्ति मितिदेखि नै लागू हुनेगरी सहमति गरेका छौं । तपाईँहरूले आन्दोलनमा देखाएको धैर्यता, सद्भाव, ऊर्जा नेपाल शिक्षक महासंघको टिमले गरेको हो । धेरै साथीहरूले आन्दोलनमा लगानी गर्नुभएको छ, ऊर्जा दिनुभएको छ त्यसको अभिलेखीकरण हुनेछ ।’

विद्यालय शिक्षा ऐन जारीलगायतका माग राखेर गत चैत २० गतेदेखि सडक आन्दोलन गरिरहेका शिक्षकहरूले बुधवार मात्र सरकारसँग ९ बुँदे सहमति गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =