राजसंस्था फर्कने सम्भावना छैन, त्यो सपना नदेख्न म आग्रह गर्छु : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताएका छन् ।
मे दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले संसारका अरू देशमा सबैभन्दा ठूलो सरकारमा र दोस्रो ठूलो पाटी प्रतिपक्षमा बस्ने गरेको बताउँदै नेपालमा संसदका दुवै ठूला राजनीतिक दल सरकारमा बसेको जिकिर गरे । उनले संविधान संशोधन गर्ने भन्दै नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाए पनि उनीहरूको प्राथमिकतामा संविधान संशोधन नपरेको टिप्पणी गरे ।
उनले सरकारले २०८७ मा संविधान संशोधन गर्ने भन्दै त्यसबाट पन्छिने काम गरेको जिकिर गरे । उनले देशमा संविधान लागू भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्याङ्कन र समीक्षा गर्नुपर्ने आवश्यकता पर्ने भएपनि नेपालमा त्यो हुन नसकेको बताए । अध्यक्ष नेपालले संविधानमा जनताका मौलिक हक र अधिकारलाई सुनिश्चित गरिए पनि व्यवहारमा लागू हुन नसकेको धारणा राखे ।
उनले संविधानमा लेखिएका जनताका हक तथा अधिकारलाई व्यवहारमा लागू गर्न चिन्तन र बहसको आवश्यकता महसुस नगरिएको उल्लेख गरे ।
उनले भने ‘संसारका अरू देशमा सबैभन्दा ठूलो पार्टी सरकारमा हुन्छ, दोस्रो ठूलो पार्टी प्रतिपक्षमा बसेको हुन्छ । तर हाम्रोमा सबैभन्दा ठूलो पार्टी पनि दोस्रो ठूलो पार्टी पनि सरकारमा बसेका छन् । किन बसेका होलान् भनेर सोच्दाखेरि संविधान संशोधन गर्नुपर्ने भयो त्यो हुनाले हामी दुवैले मिल्नुभयो भन्ने व्याख्या पनि गरेका छन् । सरकारमा गएपनि संविधान संशोधन गर्नेमा बेलाबखतमा चर्चा गर्ने बाहेक उनीहरूको त्यो प्राथमिकतामा पर्दैन । हुँदाहुँदा २०८७ मा संविधान संशोधन गरेर त्यसलाई पन्छ्याउने काम गरेको पाइन्छ । सामान्यतया, देशमा संविधान लागू भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्याङ्कन गर्नुपर्ने आवश्यकता रहन्छ । समीक्षा गर्नुपर्ने आवश्यकता पर्छ । हाम्रो देशमा पनि २०७२ साल संविधान बनायौँ । त्यो संविधानमा जनताका मौलिक हक र अधिकारलाई सुनिश्चित गर्नुपर्ने काम पनि गरिएको छ । गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीका अधिकारलाई सुनिश्चित गर्ने गरी संविधानमा व्यवस्था गरिएको छ । संविधानको कागजमा लेखिएको भएपनि त्यो व्यवहारमा लागू हुनसकेको छैन । व्यवहारमा लागू गर्ने कसरी यसको बारेमा गहिरो चिन्तन पनि छैन, बहसको पनि आवश्यकता महसुस गरिँदैन । आफू सत्तामा कसरी पुग्ने, त्यस हिसाबले समय बिताउने काम गरिएको पाइन्छ ।’
अध्यक्ष नेपालले नेपालमा राजसंस्था फर्कने कुनै सम्भावना नरहेको बताए । उनले इतिहासमा हराइसकेको राजसंस्थालाई फर्काउने कसैले कल्पना गरेको भए सपना नदेख्न आग्रह समेत गरे । केही दिनअघि राजसंस्थालाई फर्काउन केही मान्छेहरूले कोसिस गरेको बताउँदै उनीहरूले हिंसात्मक र आफूहरूको वास्तविक रूप देखाएको जिकिर गरे ।
उनले सोही दिन एकीकृत समाजवादी सहभागी समाजवादी मोर्चाले गरेको कार्यक्रम शालीन, प्रभावशाली र संस्कारी रहेको दाबी गर्दै त्यसले जनतामा उत्साह र सकारात्मक सन्देश दिएको जिकिर गरे ।
उनले भने ‘अस्ति भर्खरै देख्नुभयो, इतिहासमा हराइसकेको राजसंस्थालाई फर्काउन मान्छेहरूले कोसिस गरेका थिए । उनीहरूले हामीले गरेकै कार्यक्रमको दिनमा अर्को आमसभा गरे । उनीको आम सभा अत्यन्तै हिंसात्मक रह्यो, हाम्रो पार्टी कार्यालयमा आगो लगाए । समान चोरेर लगे, तोडफोड गरे, यति सम्मकी मेरो घरमा पनि आक्रमण गरे । व्यापारीहरूको पसलमा पनि आगजनी गरे । निजी घरहरूमा पनि आक्रमण गरे र उनीहरूले आफ्नो वास्तविक रूप देखाए । यिनीहरूको हातमा शासन जाने हो भने कसरी चलाउँदा रहेछन् त्यो कुरा उनीहरूले आफ्नो संस्कार देखाए । त्यसै दिन हामीले भृकुटीमण्डपमा कार्यक्रम गरेका थियौँ, कति शालीन थियो, कति प्रभावशाली थियो, कति संस्कारी थियो । त्यो सबैले देखे । दुई वटैलाई तुलना गरे । हाम्रो समाजवादी मोर्चाको कार्यक्रम, नेकपा (एकीकृत समाजवादी) सहभागी भएको कार्यक्रमले जनतामा उत्साह बढायो, राम्रो सन्देश दियो । प्रतिगामीहरूले गरेको कार्यक्रमले जनतामा वितृष्णा बढायो । त्यसैले राजसंस्था फर्कने सम्भावना छैन । कसैले कल्पना गरेको छ भने त्यो सपना नदेख्न म आग्रह गर्छु ।’
उनले जनताका छोराछोरी राष्ट्रपति बन्ने चलनलाई अगाडी बढाउने र भएका कमी,कमजोरीहरूलाई सुधार गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्नेमा जोड दिए ।








