समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला


दाङ । घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष हुन् । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन् ।
उनले भनिन्, ‘नौ कट्ठा जमिन भाडामा ल्याएर आलु र प्याज खेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ, दुई वटा टनेल बनाएर खेती गरेका छौँ, कृषि ज्ञान केन्द्र दाङले लक्षित वर्गका लागि बजेट सहयोग गरेको छ ।’ सोही कार्यालयले २० जनालाई २० हजारका दरले बीउ पुँजी सहयोग गरेको उनले बताइन् ।
‘समूहमा आबद्ध भएपछि सरकारी कार्यालयमा के के कार्यक्रम आउछन्, त्यसका बारेमा जानकारी हुने गरेको छ’, उनले भनिन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले बङ्गुर पालनका लागि खोर बनाउन १० लाख बजेट सहयोग गरेको उनले बताइन् ।
जनचेतना महिला कृषक समूहका अध्यक्ष देउकुमारी चौधरीले वित्तीय साक्षरता सिकेर बचत गर्न, लगानी गर्न, ऋण व्यवस्थापन गर्न, आम्दानी र खर्चमा योजना बनाउन जानेको बताइन् । उनले भनिन्, ‘सामूहिक काम गर्दा छिटो र छरितो हुने गरेको छ, खेताला लगाउन नपर्ने सजिलै काम सकिने भएको छ ।’
घोराही–१२ का नन्दा योगीले मौरीपालन तालिम लिएर मौरी पाल्न सुरु गरेकी छन् । मुक्त कमलरी विकास मञ्च र सोसेक नेपालले तालिमसँगै पाँच घार मौरी दिएको थियो ।
मौरीपालन तालिमपछि व्यावसायिक रुपमा पालन सुरु गरेको उनले बताइन् । अहिले उनीसँग १० घार मौरी छन् । उनका अनुसार करिब ८६ किलो मह उत्पादन भएको र सबै बिक्री भएको थियो । ५०० देखि ६०० प्रतिकिलोमा बिक्री गरेको उनले बताइन् ।
गाईबस्तु पालेकोभन्दा सजिलो हुने भएर यो काम राम्रो लागेको उनले बताइन् । उनका अनुसार तालिमपछि क्षमता विकास र वित्तीय साक्षरता पनि भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१६ टिक्रालहलौराकी उर्मिला चौधरी पूर्व कमलरी हुन् । उनी प्रगति पशुपालन महिला समूहको अध्यक्ष बनेकी छन् ।
समूहमा आबद्ध भएपछि उनले च्याउ खेतीको तालिम लिइन् । उनले समूहमा आबद्ध भएपछि ३० हजार घुम्ती कोषबाट पैसा लिएर च्याउ खेती गरिन् ।
चार सय लोकल कुखुरा र दुई हजार ५०० गिरीराज कुखुरा पालन गरेर प्रशस्त आम्दानी गरेको उनले बताइन् ।
समूहले आत्मनिर्भर बनाएकाले यसैलाई निरन्तरता दिने उनले बताइन् । उनीहरूको ३० जनाको समूह छ । उनका अनुसार घुम्ती कोषको पैसा एक वर्षमा साँवा मात्रै फिर्ता गर्नुपर्छ ब्याज लाग्दैन ।
घोराहीका उपप्रमुख हुमा डिसीले मुक्तकमलरीसँग सहकार्य गरेर काम गरेको बताइन् । ‘विभिन्न तालिम दिएर काम गरेका छौँ’, उनले भनिन् ।
पालिकाभित्र रहेका छाना नभएकालाई मुक्त कमलरीलाई छाना दिने कार्यक्रम रहेकाले छाना नभएकाहरूले पालिकामा सम्पर्क गर्न उनले आग्रह गरिन् । सीप सिकेकालाई स्वरोजगार बन्न पनि उनले आग्रह गरिन् ।
मुक्त कमलरी विकास मञ्चका परियोजना अधिकृत सुबोध चौधरीले मुक्त कमलरी सशक्तीकरण परियोजनाअन्तर्गत प्रत्यक्ष ४६५ जनालाई सहयोग गरेको बताए । उनले दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा कार्यक्रम लागू भएको छ ।
लक्षित वर्गमा पूर्व कमलरी, सीमान्तकृत तथा असहाय रहेको बताए । महिलाहरूले समूह बनाएर व्यावसायिक कामबाट आम्दानी गर्न थालेको उनले जानकारी दिए ।
