चाँगुनारायण मन्दिरमा रथ जात्रा

भक्तपुर । चाँगुनारायण मन्दिरमा पाँच दिनसम्म चल्ने चाँगुनारायण, छिन्नमस्ता र किलेश्वर महादेवको खट जात्रा आज भव्य रुपमा मनाइएको छ ।

पाँच दिन अगाडि निम्तो पूजा दिएर सुरु भएको यो जात्रा त्रयोदशीदेखि सुरु भएर मातातीर्थका दिन खट जात्रा गरि आज अक्षय तृतीयासम्म पाँच दिन मनाइने चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपध्यायले जानकारी दिए ।

आज अक्षय तृतीयाका दिन चाँगुनारायण, किलेश्वर महादेव र कान्ति भैरवका खट लहरै चाँगुमा बिसाएर सर्वसाधारणका लागि पूजा गर्ने व्यवस्था गरिएको उनले बताए ।

मन्दिरमा आज बिहानैदेखि दिनभरि नै देवताको पूजा गर्न भक्तजनको भीड लागेको छ । आज साँझ तीन वटै खटमा झल्लर फुलेका माला र पताः चढाएर सिंगारेर खट जात्रा गरिन्छ भने जात्रा सम्पन्न गरेसँगै देवतालाई देवघरमा भित्र्याउने परम्परा रहेको मूल पुजारी राजोपाध्यायले जानकारी दिए ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले यो जात्रा सञ्चालनका लागि नगरपालिकाले सहयोग गर्दै आएको जनाउँदै जात्रा र पर्वमा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउन नगरपालिकाले नगरकोट भ्रमण वर्ष–२०८२ को आयोजना गरेको बताए ।

उनले विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणको महिमा विश्वभर फैलाउने र यहाँ वर्ष दिन भरि लाग्ने मेला पर्वमा पनि पर्यटकलाई आकर्षित गर्न नगरपालिकाले विभिन्न कार्यक्रम अगाडि सारेको बताए ।

पाँच दिनसम्म चल्ने जात्राको पहिलो दिन कसाइँ जातिले चाँगुनारायणबाट बाजा–गाजासहित काठमाडौँको डाँछीस्थित कान्तिभैरवमा गई पूजा गर्छन् । दोस्रो दिन भात पकाइ भातबाटै भैरव, कालीलगायतका देवताको प्रतीक बनाएर पूजा गरिन्छ ।

चाँगुनारायण मन्दिरभित्रको छिन्नामस्ता (टाउको नभएकी देवी)बाट भैरवको मूर्ति र भातबाट बनाइएका देवतालाई कान्तिभैरव मन्दिरमा लगेर पूजा गरिन्छ । यसो गरेमा अनिकाल कहिल्यै नहुने विश्वास रहेको पुजारी राजोपाध्याय बताउछन् । त्यसैदिन कान्तिभैरवबाट मूर्तिलाई चाँगुनारायण ल्याइ काली र भैरवसँगै राखी पूजा गरिन्छ ।

वैशाख कृष्णपक्ष त्रयोदशीका दिन नाइके खलकले चाँगुनारायण, किलेश्वर महादेव र कान्ति भैरव देवताको खट जात्रा भव्य रूपमा मनाउन नाय्खिं बाजा बजाइ झ्याली पिट्दै नगर परिक्रमा गर्ने परम्परा छ ।

चाँगुनारायण, किलेश्वर महादेव र कान्ति भैरव (कालभैरव) को खट जात्रा गरेर इकुटोलमा पु¥याएर स्थानीयको पूजाका लागि राख्ने गरिन्छ ।

स्थानीयले देवतालाई विधिपूर्वक पूजा गरिसकेपछि चाँगुनारायण र किलेश्वर महादेवको खट जात्रा भव्य रूपमा मनाइएको छ ।
विभिन्न गुठीका गुठियारले धिमे, नाय्खिं, दाफा र विभिन्न बाजा बजाउँदै जात्रा गर्दै बलम्बु टोलमा देवतालाई राख्ने प्रचलन छ ।

भैरवलाई बलि दिएर पूजा गर्ने र चाँगुनारायण एवं किलेश्वर महादेवलाई नैवेद्य चढाएर पूजा गरिएको छ ।

वैशाख शुक्लपक्ष प्रतिपदाका दिन भट्टवारीबाट मतयाः गर्ने भन्दै बत्ती झलमल पारेर बाल्ने र राजारानीको प्रतीकको रूपमा देवतालाई विभिन्न किसिमका गहनाले सिँगारेर बाजा बजाउँदै नगर परिक्रमा गराएर जात्रा मनाउने परम्परा छ ।

राति देवताका खट बोकेर बाजा बजाउँदै रातभर जात्रा गरिन्छ भने बलि दिएर देवताका पूजा गरिन्छ । यो प्रक्रिया पाटनका राजा योगनरेन्द्र मल्लले गरेको विश्वास गरिन्छ ।

छोराको मृत्युपछि वीरक्तिएका राजा ३२ रानीसहित चाँगुनारायणमा बस्न आएका र उनीहरू पनि यस जात्रामा सहभागी भई बाजा–गाजासहित गाउँ परिक्रमा गरेको किंवदन्ती रहेको छ । त्यही साँझ मत् (दियो) जात्रा गरी बाजा–गाजासहित आरती गर्ने प्रचलन छ ।

वैशाख शुक्ल द्वितीयाका कान्ति भैरवलाई नगर परिक्रमा गराएर काठमाडौँको डाँछी, ब्रह्मखेल, नयाँगाउँ, भद्रवासदेखि साँखुसम्म लगेर रातभर त्यही राखेर जात्रा गरिने र भोलिपल्ट मात्रै चाँगुनारायण फर्काउने परम्पराअनुसार जात्रा चलाइएको मूल पुजारी रोजोपाध्यायले बताए । यसरी जात्रा गर्दा चाँगुनारायण र किलेश्वर महादेवको खटलाई भुइँमा बिसाउनु हुँदैन भन्ने किंवदन्तीअनुसार रथ बोकेरै जात्रा गरिन्छ । जात्रा आज राति सम्पन्न हुन्छ ।

जात्राका बारेमा स्वयम्भू महापुराणमा उल्लेख गरेअनुसार परापूर्व कालमा श्री किलेश्वर महादेवलाई समन्तभद्र बोधिसत्वको प्रतीकका रूपमा र नैरात्मा गुह्येश्वरीको प्रतीकका रूपमा कान्ति भैरवलाई लिएर चाँगुनारायण र काठमाडौंवासीले जात्रा मनाउने गरेका थिए ।

त्यस बेलादेखि नै दुई जिल्लाबिच यो जात्रासँगै चल्ने गरेको बताइन्छ । बौद्ध र हिन्दुको बीचमा जात्रामा समन्वय भएको महापुराणमा उल्लेख रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =