मिथिलामा बटुवालाई सातु र सर्वतले स्वागत

महोत्तरी । बटुवालाई आज सातु र सर्वतले स्वागत गरिँदैछ । मिथिला क्षेत्रमा बैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्वमा आज बिहानैदेखि सातुसर्वत प्रदान गरिएको छ ।

गर्मीयाममा खलखली पसिना काढ्दै हिँड्ने बटुवालाई जौको सातु र सक्खर, मिश्री, मरिच एवं शीतलजल मिसाएर बनाइएको सर्वत दान गर्दा कहिल्यै नाश नहुने पुण्य आर्जन हुने जनविश्वास छ । पर्वमा कुनै जात, धर्म, सम्प्रदाय र लिङ्गको भेद नगरी सातु र सर्वत दान गरिन्छ ।

मिथिला क्षेत्रका गाउँबस्तीका चोकचोकमा मैथिल र मिथिलानी सातुसर्वत लिएर बसेका छन् । ‘गर्मी छ, बाटो हिँड्नेले समयमा भोजनपानी समयमा पाउँदैनन्,’, बटुवालाई सातु, सर्वत खुवाइरहेकी भङ्गाहा–४ रामनगरकी ७५ वर्षीया जानकीदेवी भन्छिन्, ‘बटुवाले गर्मीमा सातु, सर्वत खान पाउँदा आशिष दिन्छन् ।’

यो पर्वमा सातुका थैला र सर्वतका घडा दान गर्ने परम्परा पनि छ । मिथिला परम्पराका जानकार याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायणलाल कर्ण अक्षय तृतीयाको वर्णन भविष्य पुराणमा गरिएको बताउँछन् । भगवान् शिव र पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण तथा गरिबलाई स्वर्ण, अन्न र वस्त्र दान गरेमा सुख, सौभाग्य र धन वृद्धि हुने धार्मिक मान्यता रहेको उनको कथन छ ।

गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले चिनीको मात्रा सन्तुलन राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवर्द्धक जौंको सातुको प्रयोगमा अक्षय तृतीया पर्वले जोड दिएको छ । भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरूको अन्नप्राशन र विवाहलगायत शुभकार्यका लागि साइत हेर्न नपर्ने मैथिल मान्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =