हक्कीको महिला र पुरूष राष्ट्रिय प्रतियोगिता हुने


एजेन्सी । आगामी वैशाख १७ गतेदेखि राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुने भएको छ ।
नेपाल हक्की संघको आयोजनामा महिला र पुरूष राष्ट्रिय हक्की प्रतियोगिता हुन लागेको हो । आईतवार आयोजित पत्रकार सम्मेलनमार्फत संघकी महासचिव एवं राखेपकी कार्यकारी बोर्ड सदस्य सूवर्ण श्रेष्ठले प्रतियोगिताबारे जानकारी गराइन् ।
संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगिताका खेलहरू ललितपुरको च्यासल फुटबल मैदानमा हुनेछन् । पुरुषमा ८ तथा महिलामा ४ टिमले प्रतिस्ष्पर्धा गर्नेछन् । पुरुषमा मधेस प्रदेश, कर्णाली प्रदेश, नेपाल आर्मी, गण्डकी प्रदेश, कोशी प्रदेश वागमती प्रदेश, नेपाल पुलिस क्लव र एपिएफ क्लव सहभागी हुनेछन् । एपिएफ हक्कीमा नयाँ टिम रहेको आयोजकले जनाएको छ । पुरुषमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिता लिग कम नकआउट आधारमा हुने भएको छ ।
महिलामा सहभागी हुने नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशले राउण्ड रोविन लिगका आधारमा प्रतिष्पर्धा गर्नेछ । राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।
पुरुष तथा महिला दुवै प्रतियोगितामा शिर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई दुई हजार नगदबाट पुरस्कृत गरिनेछ । राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख र महिलामा २५ लाख खर्च हुने आयोजकको अनुमान छ ।
संघकी महासचिव सूवर्णले आफ्नो कार्यकालमा हक्कीको वार्षिक क्यालेण्डर नै तयार गरी कार्यक्रमहरु सञ्चालन गरिरहेको बताइन् । उनले हक्कीको पूर्वाधार नभइरहेको अवस्थामा अहिले पूर्वाधार निर्माणका लागि धुलिखेलमा जग्गासमेत प्राप्त गरिसकेको उल्लेख गरिन् ।
उनले पूर्वाधारको डिपीआरसमेत तयार भइसकेको र सोचेअनुरुप काम अगाडि बढेमा दुई वर्षभित्र पूर्वाधार निर्माण गरिसक्ने विश्वास व्यक्त गरिन् । यसले खेलाडीलाई टर्फमै प्रशिक्षण गराउन र प्रतियोगिता आयोजनामा पनि सहज संघको विश्वास छ ।
