सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक छ : अध्यक्ष दाहाल


काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नागरिकका समस्या सम्बोधन तथा सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक भएको बताएका छन् ।
आजको बैठकको प्रारम्भमा उनले जनअपेक्षाबमोजिम सेवा प्रवाहलगायत जनसरोकारका विषयमा गम्भीर ढङ्गले विमर्श गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।
‘नेपाली जनताको त्याग र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानकाविरूद्धमा भएका गतिविधिलाई हामीले नजिकबाट नियालिरहेका छौँ । यस सन्दर्भमा सिङ्गो राष्ट्रियसभा नै गम्भीर बन्न आवश्यक ठानेको छु’, अध्यक्ष दाहालले भने, ‘सडकमा व्यक्त असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न सदनबाट निर्माण गर्नुपर्ने कानुन यथाशीघ्र टुङ्ग्याउन विशेष प्रयास आवश्यक छ ।’
अध्यक्ष दाहालले सङ्घीय निजामती सेवा विधेयक, २०८०, विद्यालय शिक्षा विधेयक, २०८०, नेपाल प्रहरी विधेयक २०८१ लगायत विधेयक राष्ट्रियसभामा दर्ता हुनासाथ प्राथमिकतामा राखेर प्रक्रियामा लगिने जानकारी दिए ।
उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेटका सिद्धान्त र प्राथमिकताका साथै बजेटमाथि सदस्यले वस्तुनिष्ठ भएर छलफलमा भाग लिने विश्वास व्यक्त गरे ।
