अरूको आशा गर्नु नै दुःखलाई निम्ता दिनु हो

अरूको आशामा बाँचेको जीवन सधैं अधुरो रहन्छ । जबसम्म हामी आफ्ना पाइला आफैं अघि बढाउन सक्दैनौं, तबसम्म जीवनको यात्रा अरूको भरमा हिडिएको थकित यात्रा मात्र बन्छ । आशा गर्नु स्वाभाविक हो, तर निरन्तर अरूबाटै अपेक्षा गर्नु भनेको दुःखलाई निम्त्याउने खुला निमन्त्रणा हो ।
मानिस सधैं अरूको साथ, अरूको सहयोग, अरूको मायाको अपेक्षा गर्छ । तर प्रश्न उठ्छ- के ऊ स्वयं अरूका लागि कहिल्यै स्थायी साथ बन्न सक्छ ? अक्सर होइन । जीवनमा विरोधाभासले भरिएको यथार्थ छ- एक्लो हुँदा साथ खोजिन्छ, र साथ हुँदा स्वतन्त्रताको तृष्णा जगिन्छ । मानिसहरू आफ्ना आवश्यकता र लक्ष्यभन्दा बढी, अरूले के गरे-के गरेन भन्ने चासोमा डुबेका हुन्छन् ।
चाहे जस्तोसुकै यात्रा होस्, कसैले कसैलाई पनि अन्त्यसम्म साथ दिन सक्दैन । आफ्नो स्टेसन आएपछि सबैले बाटो फेर्छन् । सबैको गन्तव्य एउटै हुँदैन र कसैले साथ लान र कुरेर बस्न पनि सक्दैन । बेलाबखत मानिसले भौतिक रूपमा, वैचारिक रूपमा, भावनात्मक रूपमा पनि साथ पाउँछ तर अधिकांश समय मानिसको समय एकल यात्रा र संघर्षमा बेथिति हुन्छ ।
जीवन एउटा रेल यात्रा जस्तै हो, हरेक यात्रु आफ्नो स्टेसनमा ओर्लिन्छ । कोही पनि कसैको साथ अन्तिम गन्तव्यसम्म पुग्दैन । कहिलेकाहीं भावनात्मक, वैचारिक, भौतिक रूपमा साथ पाइन सक्छ तर जीवनको अधिकांश बाटो हाम्रै एकल पाइला र आफ्नै संघर्षले अगाडि बढ्नुपर्छ ।
हामी प्रायः गुनासोमा रमाउँछौं- फलानाले साथ दिएन, ढिस्काले बुझेन, त्यो बेला त्यो आएन । तर कहिले सोच्दछौं र, ‘मैले के गरें ? मैले कहाँ चुकें ?’ जबसम्म आत्मपरीक्षण हुँदैन, त्यतिबेलासम्म हाम्रा पीडा पनि अरूकै नाममा दर्ता भइरहन्छन् ।
वास्तवमा, जुन व्यक्ति अरूको सहारामा जीवन टिकाउन खोज्छ, ऊ आफैंसँगको सम्बन्ध कमजोर पारिरहेको हुन्छ । भोक लागेको पेट कुरेर बसेर भरिँदैन- पेट पाल्न संघर्ष गर्नैपर्छ । खुशी खोज्न टाढा जानु पर्दैन, त्यसलाई आफैंभित्रै निर्माण गर्न सकिन्छ । जब व्यक्ति आफैंलाई साथी बनाउँछ, तब संसारभन्दा बलियो साथ ऊसँग हुन्छ ।
चन्द्रमा हजारौं ताराबीच एक्लै चम्किन्छ, सूर्य आकाशमा एक्लै उदाउँछ । न उनीहरूलाई कुनैको साथ चाहिन्छ, न त उनीहरू गुनासो गर्छन् । यस्तै हाम्रो जीवन पनि हुन सक्छ- एकल, तर उज्यालो र प्रभावकारी ।
चन्द्र र सूर्य झैँ एकलै एक्लै यात्रा गरियो भने न आफू दुख हुन पर्छ । न त अरूलाई दोष लगाउन नै । जीवन एक दिने चोला हो । भोलि त जे होला होला आजै आफू लाई एकल यात्री सम्झेऊ भने सूर्य र चन्द्रमा झैँ निरन्तर बिना गुनासो जीवनको सुखी यात्रा तय गर्न सक्दछौ । त्यसैले अरूको आसा गर्नु नै दुखलाई निम्ता दिनु हो ।
किन ढुङ्गा बनेर अरूको बाटो छेक्ने? किन पर्खिने कसैले बोक्ला भनेर? खहरे जस्तो उर्लिएपछि जसलाई बगाउनु छ, बगाउँछ; जसलाई छाड्नु छ, किनार लाग्छ। यही जीवनको सुन्दरतम यथार्थ हो ।
आफ्नो जीवनलाई अरूको सहारामा होइन, आत्मनिर्भरताको बलमा अघि बढाउँदा मात्र साँचो सुखको अनुभूति हुन्छ । किनकि अरूको दिइएको आश्वासन कहिले-काहीं भारी झोला बन्न पुग्छ- बिसाउन पनि नपाउने ।
यसैले जीवनको यात्रालाई चन्द्र र सूर्यझैँ एक्लै, तर उज्यालो बनाऔं । आजैदेखि आफूलाई एकल यात्रीको रूपमा स्वीकार गरौं । न गुनासो, न अपेक्षा- सिर्फ निरन्तरता र आत्मशक्ति । किनभने- ‘अरूको आशा गर्नु नै दुःखलाई निम्ता दिनु हो ।’