चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय तत्काल कार्यान्वयन होस् : चिकित्सकहरू

काठमाडौं । आवासीय चिकित्सकहरूलाई आठौं तहको मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता दिन माग गर्दै चिकित्सकहरूले आज पनि आन्दोलन गरेका छन् ।

शुक्रवार माईतीघर मण्डलामा भेला भई निजी अस्पतालहरूमा काम गर्ने चिकित्सकहरूले आठौँ तहको मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता दिन माग गर्दै आन्दोलन गरेका हुन् ।

चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले नेपालभर आवासीय चिकित्सकहरूलाई आठौं तहको मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो ।

गत वर्षको माघ २५ गते भएको उक्त निर्णय कार्यान्वयनमा सरकारले गम्भीरता नदेखाएको र निजी मेडिकल कलेजहरूले समेत दिन नसक्ने भनिरहेको भन्दै त्यसप्रति सचेत गराउनका लागि आफूहरूले आन्दोलन गरिरहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले बताए ।

उनले चिकित्सा शिक्षा आयोगको उक्त निर्णय कार्यान्वयनमा सरकारले तदारुकता देखाउनुपर्ने बताए । २९ दिनसम्म आउँदा पनि कतैबाट सुनुवाई नभएपछि नेपाल चिकित्सक संघले नेतृत्व गरेर आन्दोलन भइरहेको बताए ।

उनले भने, ‘चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले नेपालभर आवासीय चिकित्सकहरूलाई आठौं तहको मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता दिने निर्णय गरेको छ । यो निर्णय माघ २५ गते भएको थियो । त्यसपछि निजी मेडिकल कलेजले हामीले सक्दैनौँ भनिरहेको अवस्था र राज्यले त्यसलाई कार्यान्वयन गर्न तदारुकता नदेखाएको स्थिति थियो । बीचमा आएर जुन म्याचिङ भन्ने एउटा प्रक्रिया हुन्छ । लिखित पास गरिसकेपछि कुन कलेज छान्ने, के छान्ने भन्नेमा सरकारी सिटहरूमा मात्रै म्याचिङ खुल्यो, निजी कलेजहरूमा म्याचिङ खुलेन । के रहेछ भने उहाँहरुले पढाउन सक्दैनौँ भनेको कारणले गर्दा उहाँहरुले म्याचिङ प्रक्रियामा निहाल्दिनुस् भनेपछि नखुलेको भन्ने जानकारी भयो । पढ्न जानेलाई पनि समस्या भने । उहाँहरू मुद्दामा जानुभयो । जो बिजीको तालिममा छिर्ने भन्ने । जसले काम गरिरहनुभएको थियो, उहाँहरुले पनि निर्णय कार्यान्वयन नहुने भन्ने शंका भएपछि उहाँहरू सडकमा आउनुभयो । २९ दिनसम्म आउँदा पनि कतैबाट सुनुवाई नभएपछि नेपाल चिकित्सक संघले नेतृत्व गरेर अहिले आन्दोलनमा छौँ । सडकमा रहेका चिकित्सकहरूलाई विभिन्न मेडिकल कलेजबाट शारीरिक, शैक्षिक, भौतिक विभिन्न किसिमका कारबाही गर्ने चेतावनी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आएका छन् । १६ औं बैठकका निर्णय कार्यान्वयन हुनुपर्छ भन्ने माग हो । उहाँहरूलाई जुन मानसिक तनाव दिइएको छ, यो फिर्ता लिनुपर्छ र ससम्मान काममा फर्किन भन्नुपर्छ भन्ने माग लिएर सडकमा आएका छौँ ।’

उनले सडकमा रहेका चिकित्सकहरूलाई विभिन्न मेडिकल कलेजबाट शारीरिक, शैक्षिक, भौतिक विभिन्न किसिमका कारबाही गर्ने चेतावनी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आएको भन्दै दुःख व्यक्त गरे ।

१६ औं बैठकका निर्णय कार्यान्वयन हुनुपर्ने र निजी मेडिकल कलेजले दिएको मानसिक तनावप्रति क्षमा मागेर काममा ससम्मान फर्काउनुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *