चर्को गर्मीले जनजीवन अस्तव्यस्त, चितवनमा तापक्रम ३९ डिग्री


काठमाडौं । देशभर, विशेष गरी तराईका जिल्लाहरूमा गर्मीको तिव्र लहरले जनजीवन प्रभावित बनाएको छ । अप्रत्याशित रूपमा बढेको तापक्रमका कारण सर्वसाधारणको दैनिकी कठिन बन्दै गएको छ ।
चितवनको भरतपुर विमानस्थल कार्यालयका अनुसार बुधवार चितवनको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको थियो । बिहान ६ बजे २३ डिग्री रहेको तापक्रम मध्यान्हसम्ममा ३८ डिग्री नाघेको थियो । यसअघि मङ्गलवार पनि तापक्रम ३९ डिग्री सेल्सियस नै मापन गरिएको थियो भने सोमबार ३८ डिग्री सेल्सियस पुगेको थियो । यो क्रम जारी रहे निकट भविष्यमै तापक्रम ४० डिग्री सेल्सियस नाघ्न सक्ने अनुमान गरिएको छ ।
अघिल्लो हिउँदे खडेरीपछि केही दिनअघिको वर्षाले मौसम केही समयका लागि शीतल भए पनि अहिलेको चर्को घाम र गर्मीले त्यो राहत टिक्न सके न। दैनिक ज्यालादारी मजदुर, किसान र ज्येष्ठ नागरिकहरू सबभन्दा बढी प्रभावित भएका छन्। गर्मीको कारणले धेरैले आफ्नो कामको समय तालिका परिवर्तन गर्न थालेका छन् ।
स्वास्थ्यमा पनि गर्मीको प्रत्यक्ष असर देखिन थालेको छ । चिकित्सकहरूका अनुसार डिहाइड्रेसन, आँखा पोल्ने, टाउको दुख्ने, झाडापखाला, शरीर चिलाउने जस्ता समस्याका कारण बिरामीको संख्या बढ्दो छ । बालबालिका र वृद्धवृद्धा बढी जोखिममा परेका छन् ।
स्थानीय प्रशासन तथा स्वास्थ्य संस्थाहरूले नागरिकलाई सजग रहन आग्रह गरेका छन्। प्रशस्त पानी पिउन, हल्का तथा सुतीका कपडा लगाउन, घाममा कम निस्कन, र स्वास्थ्यमा समस्या देखिए तुरुन्त चिकित्सकको सल्लाह लिन भनिएको छ । साथै, सामाजिक संघ–संस्थाहरूले शीतल पानी वितरण र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न थालेका छन् ।
हाललाई गर्मीको यो अवस्था कहिलेसम्म रहन्छ भन्ने प्रष्ट जानकारी मौसम विभागले दिएको छैन । तर तत्काल सुधारको सम्भावना न्यून देखिएकोले चितवनसहित देशभरका बासिन्दा थप समस्यामा परिरहेका छन् । यस्तो अवस्थामा सरकारले पनि जनताको सुरक्षाका लागि थप प्रभावकारी कदम चाल्न जरुरी देखिएको छ ।
