पन्ध्र करोड ४६ लाखका पाठ्यपुस्तक बिक्री

कैलाली । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले १५ करोड ४६ लाख ७४ हजार ११७ बराबरका पाठ्यपुस्तक बिक्री गरेको छ ।

केन्द्रले नयाँ शैक्षिक सत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा स्थानीय पुस्तक विक्रेतामार्फत उक्त मूल्यका पाठ्यपुस्तक बिक्री गरेको हो ।

गत चैत १७ गतेबाट पाठ्यपुस्तक बिक्री सुरु गरिएको र चैत मसान्तसम्म ११ लाख ३६ हजार ४१७ थान पाठ्यपुस्तक बिक्री भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामविनय श्रेष्ठले जानकारी दिए ।

प्रदेशमा चालु शैक्षिक सत्र २०८२ मा २५ करोड बराबरका १८ लाख १७ हजार थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

उनका अनुसार बाजुरामा एक लाख नौ हजार २९६ थान, दार्चुलामा ९५ हजार ८२६, बैतडीमा एक लाख ४२ हजार ६३३, बझाङमा एक लाख आठ हजार ५६० र अछाममा एक लाख २३ हजार ११६ थान पाठ्यपुस्तक विक्री वितरण भएको छ ।

त्यसैगरी, डोटीमा एक लाख १५ हजार ६३ थान, डडेल्धुरामा ४७ हजार ७६४,कञ्चनपुरमा एक लाख ४७ हजार २३८ र कैलालीमा दुई लाख ४६ हजार ९२१ थान पाठ्यपुस्तक बिक्री वितरण भएको उनले जानकारी दिए ।

प्रदेशका सात पहाडी जिल्लामा लगभग पाठ्यपुस्तक पुगिसकेको र केही छुटपिट ठाउँमा अझै पाठ्यपुस्तक गइरहेको उनले जानकारी दिए । उनले भने, ‘हामीले सुरुमा पहाडी जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गरेका थियौँ । कैलाली र कञ्चनपुरका बाँकी रहेका ठाउँमा पाठ्यपुस्तक गइरहेको छ । भर्ना अभियानसँगै सबै जिल्लाका विद्यार्थीले पाठ्यपुस्तक पाउनुहुन्छ ।’ केन्द्रले गत शैक्षिक सत्र २०८१ मा २२ करोड ५७ लाख बराबरका पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + five =