त्रिवेणीका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत औपचारिक कार्यक्रममा सहभागी

काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिकाका जनप्रतिनिधिहरूको कार्यालय समयमा अनुपस्थित रहेको खबरमा असन्तुष्टि जनाइएको छ । यसअघि प्रकाशित नगर प्रमुख, उप-प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायतका जनप्रतिनिधि कार्यालय उपस्थित नभएको भन्ने समाचारमा असन्तुष्टि जनाइएको हो ।
स्थानीयहरूले नगर प्रमुख कर्णबहादुर थापा, उप-प्रमुख कमला कुमारी जैशी न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी प्रसाद शाह लगायतका जनप्रतिनिधि र कर्मचारीहरूको अनुपस्थितिलाई आलोचना गरेका थिए । जिम्मेवार व्यक्तिहरू २३ दिनदेखि कार्यालयमा उपस्थित नभएपछि सेवा ग्राहीहरूका आक्रोश बढ्नु स्वाभाविक हो ।
हामीले आम नागरिकबाट आएको गुनासोलाई जस्ताको जस्तै राखौं । प्राप्त भिडिओमा नगर प्रमुखको कुर्सी खाली थियो भने पङ्खा चलिरहेको देखिन्छ । नगर प्रमुखलाई फोनमा सम्पर्क गर्न खोज्दा मोबाइल बन्द थियो । सूचना अधिकारीलाई सम्पर्क हुन सकेन । नगरपालिकाको आधिकारिक वेभ साइट र सामाजिक सञ्जालमा (फेसबुक पेज)मा मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत नगरबाहिर जाने वा अनुपस्थित रहने भन्ने कुनै सूचना राखिएको छैन ।
यद्यपि उनीहरू केही दिनदेखि विभिन्न औपचारिक कार्यक्रममा सहभागिता जनाउन नगर बाहिर गएका बुझिएको छ ।जसका कारण कार्यालय समयमा उनीहरू अनुपस्थित भएको खुलेको छ ।
नगर प्रमुख थापा बडिमालिका मन्दिरको शिलान्यास कार्यक्रममा सहभागी थिए । नेपाली सेना र पुजारीको टोलीसँग उनी तीन दिनदेखि मन्दिरको शिलान्यास कार्यक्रमतर्फ प्रस्थान गरे । उक्त स्थानमा नेटवर्कको समस्या भएकाले टेलिफोन सेवा उपलब्ध नभएको बताइएको छ । बिहीबार भने मेयर थापा कैलालीको धनगढीमा आयोजित कार्यक्रममा सहभागिता जनाउने तय भएको उनका शुभचिन्तकले जानकारी गराएका छन् ।
उप-प्रमुख कमला कुमारी जैशी न्यौपाने सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजित ‘प्रदेशस्तरीय न्यायिक समितिसँगको अन्तरक्रियामा’ भाग लिन पुगेकी छन् । कार्यक्रममा मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा लैङ्गिक न्यायका विषयमा छलफल र अन्तरक्रिया हुने कार्यक्रम रहेको छ । बिहीबार ‘कार्यसम्पादन सुधारका लागि द्वन्द्व, तनाव र अन्तरसम्बन्ध व्यवस्थापन प्रशिक्षण कार्यक्रममा’ सहभागी हुने छन् ।
प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी प्रसाद शाह सुदूरपश्चिम प्रदेश सरकारद्वारा आयोजना गरिएको ‘कार्यसम्पादन सुधारका लागि द्वन्द्व, तनाव र अन्तरसम्बन्ध व्यवस्थापन प्रशिक्षण कार्यक्रममा’ सहभागी हुन धनगढी पुगेकाे खुलेको छ । कार्यक्रम सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख, अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरूको लागि आयोजना गरिएको हो ।
यसरी विभिन्न औपचारिक कार्यक्रमहरूका लागि नगर प्रमुख, उप-प्रमुख र प्रमुख प्रशासकीय अधिकृत नगर बाहिर रहेको कारण सेवाग्राहीहरूको असुविधा बढेको छ । स्थानीयवासीले यसलाई जनप्रतिनिधिहरूको गैर जिम्मेवारीपूर्ण व्यवहारको रूपमा व्याख्या गरेका हुन् । ‘जनताको सेवाका लागि निर्वाचित जनप्रतिनिधि नै सेवा दिने समयमा गायब हुनु अत्यन्त लज्जास्पद र गैरजिम्मेवार व्यवहार हो,’ सेवाग्राहीको गुनासो छ ।
बुधबार दिउँसो सेवा (सूचना) लिन नगरपालिका पुगेका स्थानीय युवा हिमाल बुढा, खेमराज सार्की र सुशील सार्कीले प्रमुख तथा अन्य जनप्रतिनिधिहरू कार्यालयमा नभेटिएपछि तीव्र असन्तुष्टि व्यक्त गरे । उनीहरू जनप्रतिनिधि नभेटिएपछि, ‘जनप्रतिनिधि हराएको सूचना ! नगर प्रमुख खै !! उप-प्रमुख खै !!!’ लेखेको प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।
स्थानीय सरकारको प्रमुख जिम्मेवारी नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउनु हो । स्थानीय जनताले जनप्रतिनिधिहरूको समयअनुसार कार्यालयमा उपस्थिति सुनिश्चित गराउन र सेवाको गुणस्तरमा सुधार ल्याउन नगरपालिकाको नेतृत्वलाई खबरदारी समेत गरेका छन् ।








