जुम्लाको कनकासुन्दरीमा सञ्चालित आँखा शिविरबाट छ सय जना लाभान्वित

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाट–सिँजा स्वास्थ्य चौकीमा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरबाट छ सय एक जना लाभान्वित भएका छन् ।
सो गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ४६ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको थियो ।
त्यस्तै, स्थानीय जनताको आँखाको स्वास्थ्य परीक्षणसहित ३०० जनालाई निःशुल्क रुपमा चस्मा प्रदान गरिएको कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य निरीक्षक वीरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।
कनकासुन्दरी गाउँपालिकाका प्रमुख दामोदरप्रसाद आचार्यले दक्ष तथा अनुभवी चिकित्सक एवं स्वास्थ्यकर्मीको सहयोगमा गाउँ गाउँमा पुगी सर्वशुलभ एवं गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नीति तथा कार्यक्रम कार्यान्वयनका क्रममा यसपटक निःशुल्क आँखा शिविर सञ्चालन गरेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारीका अनुसार गाउँपालिकाको आयोजनामा हाट–सिँजामा सञ्चालित स्वास्थ्य शिविरमा उपचार गर्न आउने बिरामीलाई घरसम्म पुर्याउने र खानबस्ने व्यवस्थासहित फलफूलसमेत वितरण गरिएको छ ।









