गल्तीबाट शिक्षा लिएर जनताका पक्षमा एउटा अर्को क्रान्ति घोषणा गर्न चाहन्छु : प्रचण्ड


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गण्तन्त्रवादीहरुले जनताको अपेक्षाअनुसार काम गर्न नसकेकै कारण इतिहासको कुडाकर्कटमा मिल्काइएका तत्त्वहरू टाउको उठाउने दुःसाहस गरेको भन्दै आत्मआलोचना गरेका छन् ।
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौं गरेको आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दालालले जनचाहानाअनुसार काम गर्न नसकेकै कारण प्रतिगामी तत्त्वहरू सक्रिय भएको भन्दै आत्मआलोचना र आत्मसमिक्षा गरे ।
उनले विगतका गल्तीबाट पाठ सिक्दै जनता, शहीद परिवार, बेपत्ता योद्धा परिवार, घाइते र बेपत्ता पारिएका परिवारका सपना पूरा गर्ने भन्दै अर्को क्रान्तिको घोषणा गरे ।
उनले गणतन्त्रमा गरेका कमजोरीहरूलाई सच्याउँदै लोकतान्त्रिक गणतन्त्रलाई समाजवादी गणतन्त्रमा ढाल्नको लागि नयाँ आन्दोलन एवं क्रान्तिको आवश्यक रहेको बताए ।
उनले भने ‘सायद हामी गणतन्त्रवादीहरूले सायद जनताका आशा अपेक्षाअनुसार काम गर्न नसकेकै कारण इतिहासको कुडाकर्कटमा मिल्काइएका तत्वहरुले पनि टाउको उठाउने दुस्साहस गर्न पाए । त्यसकारण अरूलाई गाली गर्नुभन्दा पहिले म सम्पूर्ण जनसमुदायसँग गणतन्त्रवादी नेताको हैसियतले पहिला आत्म आलोचना गर्न चाहन्छु, आत्मसमिक्षा गर्न चाहन्छु । र हामी ती गल्तीबाट शिक्षा लिएर फेरि एकचोटि जनताका पक्षमा, मजदुर किसानका पक्षमा, उत्पीडित, वर्ग, जार्ती, क्षेत्र र समुदायको पक्षमा सम्पूर्ण शहीद परिवार, बेपत्ता योद्धा परिवार तथा शहीद, घाइते र बेपत्ता पारिएका परिवारका सपना पुरा गर्न एउटा अर्को क्रान्तिको घोषणा म गर्न चाहन्छु । आफ्ना गल्तीहरू सच्याउँदै वर्गहरूतिर फर्कने, आफ्नो राजनीतिक विचार र मुद्दातिर फर्कने म यो मञ्चबाट औपचारिकताका लागि भनिराखेको छैन । हामीले गणतन्त्रमा गरेका कमजोरीहरूलाई सच्याएर यो लोकतान्त्रिक गणतन्त्रलाई समाजवादी गणतन्त्रमा ढाल्नको लागि हामी एउटा नयाँ आन्दोलन र क्रान्तीद्धारा अहिले देखिएका अन्योल र समस्याहरूको समाधान गर्न चाहन्छौं ।’
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विगतमा धेरै गल्ती गरिसकेकाले फेरि अर्को गल्ती नगर्न चेतावनी दिए । नेपाललाई २४० वर्षसम्म संसारको सबैभन्दा गरिब देश बनाउनेहरूलाई नेपाली जनताले छुट नदिने समेत उनको दाबी छ ।
