खबर दिनभर : कुलमान हटेपछि देशभर प्रदर्शन, हितेन्द्रदेवले सम्हाले ‘कमाण्ड’, ओलीलाई कांग्रेसको पूर्ण साथ

तिललाई पहाड बनाउने काम हुँदैछ, केही अर्थ छैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमान्दारितका साथ काम गरिरहेको बताएका छन् ।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै तिललाई पहाड बनाउने काम भइरहेको बताए । उनले इस्यु पायौँ भन्ने हिसाबले केही समूहरुहरुले विरोध सुरु गरिसकेको बताए । आफूले आइडोलोजी नभई देशप्रतिको निष्ठा हेर्ने गरेको र देश सबैको साझा भएको बताए ।
प्रधानमन्त्री ओलीले भने ‘मैले आइडोलोजी त्यति धेरै हेर्दिन, देशप्रतिको निष्ठा हेर्दछु । आइडोलोजी आफ्नो आफ्नो हुनसक्छन् । देश साझा हो । तरिका सोचहरू फरक फरक हुनसक्छन् तर गन्तव्य एउटै हो देश । देश कसरी बनाउने भन्नेकुरा हो । ससाना कुराहरू । तिलको पहाड बनाएका छन् । पहिला पहिला तिलका पहाड बनायो भन्थे । तिललाई नै पहाड बनाउने चलन छ । त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ । अहिले पनि केही सानो एउटा त्यान्द्रो विषय पाएका जस्तो लाग्यो केही मानिसलाई उफ्रिरहेका छन्, कुदिरहेका छन् । के पायौँ के पायौँ, इस्यु भेटियो भनेर हिजैदेखि वक्तव्यबाजी सुरु भएको । यही त्यान्द्रो हो । यही डोरीलाई नाग बनाउनुपर्छ भनेर कुदेका छन् । कोही के भनेर कुदेका छन् । केही अर्थ छैन । हामीले देश र जनताको हितको लागि काम गर्नुपर्छ, इमानदारिताका साथ ।’
प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा रहेको व्यक्तिलाई सरुवा गरेर अवकाश प्राप्त भइसकेको व्यक्तिलाई नियुक्त गरेको होइन रु भन्दै प्रश्न गरे ।
उनले पहिलो ४ वर्षमा कति उज्यालो आएको थियो र पछिल्लो पटक नियुक्ति गर्ने बित्तिकै उज्यालो आएको हो रु भन्दै प्रश्न गरे । बर्सौँ लगाएर गरेको मेहनतलाई जादु र चमत्कार भनेर प्रचार नगर्न पनि चेतावनी दिए ।
प्रधानमन्त्री ओलीले भने ‘एक जना मित्रको मैले स्ट्याटस पढेको थिएँ । त्यहाँबाट अवकाश प्राप्त भइसकेको मान्छेलाई त्यहीँबाट हुर्किएर आएर त्यहीँ कुनै बाहिरबाट खोजेर ल्याएको होइन, त्यहीँको क्याडरलाई नियुक्त दिएको हो, बाहिरबाट कतैबाट खोजेर ल्याएर होइन । त्यस्तो मान्छे निष्कासन गर्नुभयो । अर्को ठाउँमा निकम्मा बनाएर सरुवा भनेर राखिदिनु भयो । रिटायर्ड मान्छेलाई ल्याएर राखिदिनु भयो । उहाँले उज्यालो ल्याउनुभयो भनेर व्याख्या गर्नुभएछ । अघिल्लो ४ वर्षको कार्यकाल पूरै त्यहीँ काम गर्नुभएको हो । त्यसबेला ल्याउनुभएको थियो की उहाँले नियुक्त गर्ने बित्तिकै आगो बोकेर आउनुभयो, बिजुली, चिम, ट्रान्समिसन लाइन बोकेर आउनुभयो की रु बर्सौँ लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई जादु, चमत्कारको रुपमा व्याख्या गर्ने । कोही पनि साथीहरूलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । ’
प्रधानमन्त्री ओलीले पूर्वराजा शाहप्रति लक्षित गर्दै उनले एउटा व्यक्तिलाई मानेर, एउटा संस्था र एउटा व्यक्तिका खानदानलाई मानेर हिँड्ने सामन्ती चिन्तनमा अबको युग जान नसक्ने जिकिर गरे । लोकतन्त्र दुनियाँको सबैभन्दा राम्रो प्रणाली भएको दाबी गर्दै अझै यसलाई परिष्कृत गर्दै अघि बढाउने बताए ।
प्रधानमन्त्री ओलीलाई काँग्रेसको पूर्ण समर्थन छ : देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसको पूर्ण समर्थन रहेको बताएका छन् ।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको त्यही बेलादेखिको साथी भएको बताए । उनले आफूहरूबिच राजनीति फरक ठाउँमा रहे पनि मित्रवत् भावना रहेको बताए ।
सभापति देउवाले भने ‘ओलीजी र हाम्रो पार्टीको बीचमा सहमति भएको छ । उहाँ र म जेलमा सँगै बसेको हो । उहाँ त जेल भित्रको पनि जेलमा बस्नुभएको हो । हाम्रो राजनीति आफ्नो ठाउँमा छ । हामी जेलमेट भएको कारणले हामीसँगको सम्बन्ध पनि राम्रो छ । हामीबिचको सम्बन्ध राम्रो भइरहेको छ, अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन । काँग्रेसको पूर्ण समर्थन छ ।’
सभापति देउवाले स्व.गिरिजाप्रसाद कोईराला निडर व्यक्ति रहेको बताए ।
विचाराधीन विधेयकलाई शीघ्र टुङ्गोमा पुर्याउने सत्तापक्षीय दलको निर्णय
सत्तापक्षीय दलहरुले संसद्मा विचारधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्याउने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार बसेको सत्ता पक्ष दलका शीर्ष नेताको बैठकमा संसद्मा विचारधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिकमन्त्री शरतसिंह भण्डारीले जानकारी दिए ।
बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा छलफल भएको उनले बताए।
बैठकमा प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उपस्थित थिए ।
कार्यभार सम्हालेपछि हितेन्द्रदेवले भने – सरकारले मलाई न्याय गर्यो
हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हालेका छन् ।
सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो । सरकारको निर्णयसँगै मंगलवार साँझ शाक्यले कार्यकारी निर्देशकको कार्यभार सम्हालेका हुन् ।
कार्यभार सम्हाल्दै उनले सरकारले पुनः नियुक्ति गरेसँगै आफूले न्याय पाएको महशुस भएको बताए । उनले आफ्नो अनुभव र दक्षतालाई अब पुनः शुरु गर्ने बताए ।
उनले विद्युतको क्षेत्रमा अहिले केही ठूला चुनौतिहरु रहेको भन्दै बाहिर सबै ठिक रहेको देखिएपनि भित्र धेरै समस्या रहेको बताए । यसलाई सबै मिलेर समूहको रुपमा समाधान गर्ने बताए ।
व्यक्ति भन्दा पनि संस्थालाई प्राथमिकता दिएर समाधान गर्ने जिकिर गरे । लोडसेडिङको कुरा हल्ला मात्रै भएको र हुन नदिने प्रतिवद्धता जनाउनु भयो । उद्योगधन्दामा भइरहेको लोडसेडिङ कम गर्ने बताए ।
उनले प्रक्रियागत कुराबाट डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान प्राविधिक रुपबाट गर्ने र निष्पक्षताका साथ काम गर्ने प्रतिवद्धता जनाए।
राप्रपा बैठक : काठमाडौंमा प्रदर्शन गर्ने, कुलमान हटाउने सरकारको निर्णयको गर्यो विरोध
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही चैत्र २६ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । मंगलबार काठमाडौं बसेको आन्दोलन मूल समितिको बैठकले सो निर्णय गरेको हो ।
आन्दोलनका लागि सहकार्य गर्न ढोका खुला गर्ने समेत बैठकले निर्णय गरेको अध्यक्ष राजेनद्र लिङदेनले बताए । त्यस्तै, आगामी वैशाख ७ गतेबाट निरन्तर रुपमा राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय पनि राप्रपाले गरेको छ ।
उनका अनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गर्ने निर्णय पनि भएको छ ।
प्रधानमन्त्री र थाइल्याण्डका राजदूतबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्याण्ड भ्रमणको पूर्वसन्ध्यामा राजदूत सिरिसोर्नले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
यही चैत २२ मा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० को छैठौँ शिखर सम्मेलन तथा थाइल्याण्ड औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिमिमण्डल यही चैत चैत १९ गते बैँकक प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।
कुलमान बर्खास्तीको दोस्रो दिन ऊर्जामन्त्री खड्काको पुत्ला दहन
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको विरोधमा विभिन्न तहबाट चर्को असन्तुष्टि देखिएको छ ।
एकीकृत समाजवादी निकट युवा संघ, अनेरास्ववियू लगायतका जनसंगठनले मंगलबार काठमाडौंको विश्वभाषा क्याम्पस अगाडि विरोध प्रदर्शन गर्दै सरकारको निर्णयको कठोर आलोचना गरेका छन् । प्रदर्शनकारीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुतला दहन गर्दै नाराबाजी गरेका थिए ।
यस निर्णयको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) तथा राष्ट्रिय स्वतन्त्र पार्टीले कडा प्रतिक्रिया जनाएका छन् । प्रतिपक्षी दलहरूले घिसिङको कार्यकालमा मुलुकको ऊर्जा क्षेत्रले ठूलो फड्को मारेको दाबी गर्दै उनको बर्खास्तीलाई सरकारको अदूरदर्शिता भनेका छन् । सत्तारूढ दल नेपाली कांग्रेसभित्र पनि यस निर्णयलाई लिएर गहिरो असन्तोष देखिएको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै सरकारको निर्णयको आलोचना गरेका छन् । उनीहरूले घिसिङ जस्ता सक्षम र इमानदार नेतृत्वलाई हटाउनु ऊर्जा क्षेत्रमा पछाडि फर्कने संकेत भएको टिप्पणी गरेका छन् ।
घिसिङलाई हटाउने निर्णयको विरोधमा केवल राजनीतिक दलहरू मात्र नभई सर्वसाधारण नागरिक पनि आन्दोलित भएका छन् । सामाजिक सञ्जालहरूमा सरकारको कदमलाई लिएर तीव्र आलोचना भइरहेका छन् । धेरैले घिसिङको कार्यकाललाई प्रशंसनीय मान्दै उनलाई हटाउनुको कारणप्रति गम्भीर प्रश्न उठाएका छन् । उनले नेपालको ऊर्जा क्षेत्रमा सुधार ल्याई लोडसेडिङ अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनको व्यवस्थापन क्षमताका कारण प्राधिकरण नाफामा परिणत भएको थियो, जसले गर्दा उनले व्यापक जनसमर्थन पाएका थिए ।
विश्लेषकहरूका अनुसार घिसिङको हटाइने निर्णय सरकारभित्रको आन्तरिक मतभेदको संकेत हुन सक्छ । केही राजनीतिक व्यक्तित्वहरूले सरकारको यस कदमलाई असमझदारीपूर्ण तथा अनावश्यक विवाद सिर्जना गर्ने भन्दै आलोचना गरेका छन् । यस विषयमा सरकारको तर्फबाट आधिकारिक धारणा आएको छैन ।
ऊर्जा मन्त्रालयले घिसिङ हटाउनुको कारण स्पष्ट रूपमा सार्वजनिक नगरे पनि सरकार समर्थक पक्षहरूले यो कदमलाई स्वाभाविक प्रशासनिक प्रक्रिया भनेका छन् ।
कुलमान घिसिङलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादी केन्द्रको माग
नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको बताएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् ।
उनले बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त भएको बताएका छन् । उनले यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास श्रजना गर्ने उद्देश्यले गरिएको बताए ।
‘यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै प्रायोजित दुष्प्रचार सुरु गरिएको उल्लेख गरिएको छ।
उपाध्यक्ष सापकोटाले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति दुष्प्रचार गरिएको बताए । उनले आमनागरिकमा भ्रम सृजना गर्ने दुष्प्रचार तत्काल बन्द गर्न कडा चेतावनी दिएका छन् ।
शुद्धीकरण अभियान बुधबारदेखि स्काउट प्राङ्गणमै आमरण अनसन बस्ने
नेपाल स्काउटभित्र देखिएको अनियमितता,अपारदर्शिता तथा अराजक गतिविधि विरुद्ध गठन भएको शुद्धीकरण अभियानले भोलि९बुधबार०देखि स्काउट प्राङ्गणमै आमरण अनसन बस्ने भएको छ ।
नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईमाथि छानविन माग गर्दै चैत्र १ गतेदेखी रिले अनसनमा बसेको शुद्धीकरण अभियानले मंगलबार सो चेतावनी दिएको हो । माग सम्बोधन नभएमा बुधबार दिउँसो १२ बजेदेखि स्काउटको प्राङ्गणमै आमरण अनसन बस्ने स्काउटर आशिक कार्कीले बताए ।
उनले निर्देशक भट्टराईमाथि छानविन माग गर्दै गत फागुन ६ गते युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई ज्ञापनपत्र बुझाएपनि हालसम्म माग सम्बोधन नभएको भन्दै बुधबारदेखि आमरण अनसनमा बस्ने शुद्धीकरण अभियानले घोषणा गरेको हो । स्काउटर आशिक कार्कीले आफुहरुलाई नजिस्क्याउन समेत आग्रह गरे । आमरण अनसन सशक्त हुने उनको भनाई छ ।
स्काउट भएको हिसाबले आफुहरु अराजक नबनेको समेत उनले बताए । आफुहरु माग सम्बोधन नभएसम्म कसैसंग कुरा नगर्ने र पछि नहट्ने समेत उनले बताए ।
उनले आफुहरुसंग बकम्फुसे कुरा नगर्न समेत आग्रह गरे । माग सम्बोधन भए मात्र कुरा गर्ने बताउँदै आफुहरुका मागलाई गम्भीरता पूर्वक लिन आग्रह समेत गरे ।
एक खेल बाँकी छँदै नेपाल पुलिस पिएम कपको फाइनलमा
लिग चरणको एक खेल बाँकी छुँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
लमहीको देउखुरी क्रिकेट रङ्गशालामा पुलिसले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेशको पारी २४ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमै समेटियो ।
कर्णालीका लागि रविन्द्र शाहीले ४९ र अर्जुन घर्तीले ३० रन बनाए । बलिङतर्फ खेलको म्यान अफ दी म्याच घोषित ललितनारायण राजवंशीले ९ ओभरमा ४१ रन खर्चिँदै ६ विकेट लिए । यस्तै सागर ढकालले २ र करण केसीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो ।
पुलिसका लागि अर्जुन साउदले ३६, दिलिप नाथले ३४ र सागर ढकालले अविजित २२ रन बनाए ।
बलिङतर्फ कर्णाली प्रदेशका अनुज चुनाराले ४, दिवान पुनले ३ तथा दिनेश अधिकारी, दीपेन्द्र रावत र सुनील धमलाले एक एक विकेट लिए ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा ८ खेल खेलेको पुलिस क्लब अविजित रहँदै १६ अङ्क बटुलेर शीर्ष स्थानमा छ ।
नेपालको सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक,किरण चेम्जोङसँगै अन्य को-को परे ?
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालको सुरुआती बल मलेसियाको सुल्तान इब्राहिम स्टेडियम अहिले साँझ ७ः४५ बजे हुने खेलको लागि मुख्य प्रशिक्षक म्याटले नेपालको सुरुआती ११ खेलाडीको नाम सार्वजनिक गरेको हो । जसमा सिङ्गापुरसँग खेलेको टोलीमा एक खेलाडी परिवर्तन भएको छ ।
सुरुवाती ११ मा नियमित खेल्दै आएका फरवार्ड अञ्जन विष्टलाई मुख्य प्रशिक्षक म्याटले आराम दिए । उनको स्थानमा मिडफिल्डर लाकेन लिम्बूलाई अवसर दिएको छ ।
यही चैत ७ गते सिङ्गापुरको नेसनल स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले सिङ्गापुरमाथि १–० को जित निकालेको थियो । जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुरलाई ३६ वर्षपछि पराजित गरेको थियो ।
नेपालको सुरुआती ११ मा कप्तान एवं गोलकिपर किरण चेम्जोङसँगै लाकेन लिम्बू, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, जेलेस्पीजङ्घ कार्की, एरिक विष्ट, सुमित श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र रोहित चन्द छन् ।
नेपाल हाल फिफा वरियतामा एक सय ७५औँ स्थानमा छ भने मलेसिया एक सय ३२औँ स्थानमा छ । पुरुष फुटबलमा नेपालले मलेसियालाई अहिलेसम्म हराउन सकेको छैन । यसअघि भएको सात भेटमा नेपालले मलेसियालाई पराजित गर्न सकेको छैन । मलेसियाले छ खेल जित्दा एक खेल भने बराबरीमा सकिएको थियो ।
आजको खेल नेपालमा हुनुपर्ने हो । तर दशरथ रङ्गशालालाई अन्तरराष्ट्रिय मान्यता नदिएको कारण नेपाली टोली मलेसिया गएको हो ।यस छनोटमा एसियाका २४ टिमलाई विभिन्न छ समूहमा विभाजित गरिएको छ । जसमा नेपाल समूह एफ मा परेको छ । नेपालको समूहमा मलेसिया, भियतनाम र लाओस छन् । होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ ।








