कानुन कार्यान्वयन गर्न चाहिने कार्यविधि, नियमावली समयमै बनाउन आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले कानुनहरूमा सुधार गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न खोज्नु आवश्यक रहेको बताएका छन् ।
ललितपुर उद्योग वाणिज्य संघको ५८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले सरकारले कानुन संशोधन गरेर लगानीको वातावरण सिर्जना गरेको बताउँदै अब कार्यविधिहरू ल्याउन ढिला गर्न नहुने बताएका हुन् । उनले निजी क्षेत्रले राखेका मागहरू कानुन संशोधन गरेर सरकारले सम्बोधन गरेकोमा धन्यवाद दिए ।
उनले सरकारले कानुन परिवर्तन गरेर आन्तरिक र बाह्य लगानीको वातावरण सिर्जना गरेको बताए । निजी क्षेत्र र सरकारबीच एक अर्काबीच दोषारोपण गर्ने परिपाटी हुन नहुने बताउँदै उनले निजी क्षेत्र र सरकारबीच सहकार्य गरेर अघि बढ्नु जरुरीमा जोड दिए ।
उनले भने ‘हामीले राखेका धेरै मागहरू सरकारले कानुन संशोधन गरेर सम्बोधन गरेको छ । कानुन परिवर्तन गरेर आन्तरिक, बाह्य लगानीको वातावरण सिर्जना गर्ने काम सरकारले गरेको छ । यो माग धेरै पहिलादेखि निजी क्षेत्रले गरेको थियो । कानुन अनुसार बन्ने कार्यविधि र नियमावली समयमै बन्यो भने छोटो समयमा निजी क्षेत्रले धेरै काम गर्न सक्छौँ भन्ने निजी क्षेत्रको विश्वास समेत रहेको छ ।’
स्रोतलाई एकै ठाउँमा राखेर उपयोग गर्नसके राम्रो प्रतिफल आउनसक्ने उनको भनाइ छ ।








