जापानका ५३ प्रतिशत कम्पनीहरूले खोजे पूर्णकालीन कामदार


टोकियो । जापानमा पूर्णकालीन कामदारको अभाव कोभिड-१९ महामारीपछिकै सबैभन्दा खराब स्तरमा पुगेको छ । ५३ दशमलव ४ प्रतिशतले जापानी कम्पनीहरू कोभिडपछि पहिलो पटक पूर्णकालीन कामदारको अभाव तीव्र रूपमा महसुस गरिरहेको देखिएको हो ।
निजी क्षेत्रको सर्वेक्षणअनुसार आधाभन्दा बढी कम्पनीहरू कर्मचारीको कमीको समस्या झेलिरहेका छन् । तेइकोकु डाटाबैंक लिमिटेडले सार्वजनिक गरेको जनवरी महिनाको सर्वेक्षणमा करिब ११ अजार कम्पनीहरूले भाग लिएका थिए । जसमध्ये ५३ दशमलव ४ प्रतिशतले आफूलाई थप पूर्णकालीन कामदारहरूको आवश्यकता रहेको बताएका छन् । यो संख्या अप्रिल २०२० यताकै उच्च हो ।
पूर्णकालीन कामदारको सबैभन्दा धेरै अभाव सूचना सेवा क्षेत्रमा छ, जहाँ प्रणाली इञ्जिनियरहरूको आवश्यकता अत्यधिक छ । त्यसपछि, निर्माण क्षेत्रमा पनि कामदारको ठूलो अभाव देखिएको छ । सर्वेक्षणले आंशिककालीन (पार्ट टाइम) कामदारको अभावसमेत देखाएको छ । ३० दशमलव ६ प्रतिशत कम्पनीहरूले आफूलाई आवश्यक आंशिककालीन कामदार नभएको बताएका छन् । यसमा स्टाफिङ फर्महरू सबैभन्दा बढी प्रभावित छन्, जसपछि रेस्टुरेन्ट क्षेत्र दोस्रो स्थानमा छ ।
अर्थशास्त्रीहरूले गत वर्ष देखिएको उच्च ज्याला वृद्धिको प्रवृत्ति निरन्तर रहने कि न रहने भन्ने कुरालाई ध्यानपूर्वक अध्ययन गरिरहेका बेला यो सर्वेक्षण आएको हो । जापानका प्रमुख कम्पनीहरूले छिट्टै श्रमिक युनियनहरूका तर्फबाट उठाइएको तलब वृद्धिको मागमा आफ्नो निर्णय सुनाउने छन् । वार्षिक रूपमा हुने वार्ता ‘शुन्तो’ यो महिनाको अन्त्यसम्म टुंगिने अपेक्षा गरिएको छ ।
श्रम अभावबाट प्रभावित ६८ दशमलव १ प्रतिशत कम्पनीहरूले आगामी आर्थिक वर्ष २०२५ (अप्रिलदेखि लागू हुने गरी) पूर्णकालीन कामदारहरूको तलब वृद्धि गर्ने योजना बनाएको बताइन्छ । यसको मुख्य उद्देश्य आवश्यक जनशक्ति भित्र्याउनु र कायम राख्नु हो । तर, अर्थशास्त्रीहरूले साना र मध्यम स्तरका कम्पनीहरूले ठूला कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै निरन्तर तलब वृद्धि गर्न कठिनाइ झेल्ने चेतावनी दिएका छन् ।
अनुसन्धान संस्थाका अनुसार, श्रम अभावका कारण कम्पनीहरू दिवालिया हुने जोखिम प्रति सतर्क रहन आवश्यक छ । सन् २०२४ मा कम्पनीहरू दिवालिया हुने संख्या अहिलेसम्मकै उच्च थियो ।
