प्राकृतिक स्रोत तथा वित्त आयोगले समानिकरणको अनुदान वितरणमा पक्ष धरता लिने गरेको राप्रपाको आरोप, छानबिन गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना लामाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानिकरणको अनुदान वितरणको आधार र मापदण्ड नबनाई पक्षधरलाई बाँडफाँड गरेको आरोप लगाएकी छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामाले यस्तो आरोप लगाएकी हुन् । उनले अमेरिकी सहयोग परियोजना युएस एडको अनुदान सहयोग समेत आयोगको मिलोमतोमा दुरुपयोग गरिएको आरोप लगाइन् ।
उनले युएस एडको सहयोग दुरुपपायेग गर्नमा आयोगका पदाधिकारीको समेत संलग्नता रहेको भन्दै आवश्यक छानबिन गर्न माग गरिन् ।
उनले भनिन्, ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानिकरणको अनुदान वितरणको आधार र मापदण्ड वितरणको पक्षधरको आधारमा बाँडफाँड गर्ने गरेको बुझिएको छ । सभामुख महोदय यस्तै आयोगको स्वीकृतिबिना युएस एडको सहयोग दुरुपयोग भएको र यसमा आयोगकै पदाधिकारी संलग्न छन् भन्ने समाचार आएको छ । यसले गैर जिम्मेवारी पन देखाइएको छ । यसमा निष्पक्ष छानबिन गरी सदनमा जानकारी गराउन माग गर्दछु ।’
उनले आयोगको संलग्नता र अनुदान वितरणको विषयमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् ।








