सांसद बडूको प्रश्न- बाढीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सरकारको योजना के छ ?

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडूले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद बडूले यस्तो बताएका हुन् । उनले गत वर्ष आएको बाढीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सरकारको योजना के छ ? भन्दै प्रश्न समेत गरे ।
उनले दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ४ को एक गाउँ बाढीले विस्थापित हुन पुगेको भएपनि अहिलेसम्म पुनर्निर्माण हुन नसकेको बताए ।
उनले भने ‘गत वर्षको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काममा अब सरकारको के योजना हो ? कहिले सुरु गर्छ ? दार्चुला जिल्लाको मार्मा गाउँपालिकाको वडा नम्बर ४ पुरै गाउँ गत वर्ष भाद्रमा आएको बाढीबाट पुर्णतः क्षतिग्रस्त भएको छ । जनताहरू विस्थापित भएका छन् । सिँचाइ र खानेपानीको संरचनाहरू पूर्णतः ध्वस्त छन् । अहिलेसम्म पुनः निर्माण हुन सकेन । अझै पनि पुनः निर्माण नगर्ने हो भने जनता त्रसित अवस्थामा रहेका छन् । म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
क्षतिग्रस्त संरचनाहरूको समयमै पुनः निर्माण नहुँदा जनता त्रसित र भयमा बाच्न बाध्य रहेको सांसद बडूको भनाइ छ ।








