‘क्याबिनेट’ निर्णयपछि मन्त्रालयले सोध्यो कुलमान घिसिङलाई स्पष्टीकरण

काठमाडौं । उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।
हिजो (बुधबार) बसेको मन्त्रीपरिषद (क्याबिनेट) बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्न उर्जामन्त्रीलाई भनेको थियो । सोही अनुरुप बिहीबार उर्जा मन्त्रालयले घिसिङलाई स्पष्टीकरण सोधेको हो ।
मन्त्रालयका सचिव सुरेश आचार्यद्धारा हस्ताक्षरित चार बुँदे चार स्पष्टीकरण पत्र घिसिङले प्राप्त गरिसकेका छन् । आइतबार जवाफ पठाउने घिसिङको तयारी छ ।
यसअघि मन्त्रालयबाटै दुईपटक स्पष्टीकरण सोधिएको थियो । मन्त्रालयले आफूलाई स्पष्टीकरण सोध्न सक्ने अधिकार नभएको भन्दै घिसिङले प्रतिवाद गरेका थिए ।
यस्तो छ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सोधिएको स्पष्टीकरण
मन्त्रिपरिषद्ले पठाएको स्पष्टीकरण पत्रमा घिसिङलाई चारवटा आरोप लगाएर उनको नियुक्ती किन नगर्ने भनि सोधिएको छ । घिसिङले आफ्नो कार्यसम्पादन मूल्यांकको प्रतिवेदन समयमा नबुझाएर कार्यसम्पादन सम्झौता उल्लंघन गरेको पहिलो आरोप छ ।
पहिलो बुँदामा भनिएको छ, ‘मन्त्रालय र तपाईंबीच मिति २०७८/१०/५ मा भएको कार्यसम्पादन सम्झौताको दफा ९.५ को समयसीमाभित्र आर्थिक वर्ष २०८०÷०८१ को कार्यसम्पादन प्रतिवेदन पेश नगरी सम्झौताको शर्त उल्लङ्घन गर्नुभएको कारण सोही सम्झौताको दफा १०.३ को अवस्था उत्पन्न भएकोले तपाईंसँगको सम्झौता अन्त्य गरी तपाईंको नियुक्ति रद्द किन नगर्ने ?’
दोस्रो बुँदामा घिसिङले सन् २०२४ मार्च ११ र २०२५ फेब्रुअरी १२ मा भएको इन्डो–नेपाल पावर एक्सचेन्ज कमिटीको क्रमशः १५ औं र १६ औं बैठकमा भारतको केन्द्रीय विद्युत प्राधिकरणसँग भारतीय आर्थिक वर्ष २०२४/२५ र २०२५/२६ का लागि द्विपक्षीय विद्युत विनिमय समितिको बैठकबाट तय भएको सहमतिपत्रमा हस्ताक्षर गरी आफूलाई अधिकार नै नभएको कार्य गरेको आरोप लगाइएको छ ।
यस्तै, डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत उपयोग गर्ने ग्राहकहरूले खपत गरेको विद्युतको वक्यौता रकम महसुल निर्धारण तथा असूली सम्बन्धी विषयमा मन्त्रालयमार्फत दिएको निर्देशनको अवज्ञा गरेको तेस्रो आरोप छ ।
चौंथोमा, नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम कार्यकारी निर्देशकले पालना गर्नु पर्ने आफ्नो काम र कर्तव्य पालना नगरेको भनिएको छ ।








