त्रेतायुगमा सीतारामले खेलेको सम्झनामा मिथिला मध्यमा परिक्रमाका तीर्थयात्रीले खेले होली

काठमाडौं । त्रेतायुगमा सीतारामले रङ, अबिर दलेर होली खेलेको सम्झनामा मिथिला मध्यमा परिक्रमामा सहभागीहरूले कञ्चनवनमा उत्सव मनाएका छन् ।
मिथिला विहारीको डोलासँगै कञ्चनवन पुगेका तीर्थयात्रीहरूले एक अर्कालाई रङ, अबिर दल्दै बिहीबार होलीको उल्लास साटेका छन् ।
संस्कृतिविद्हरूकाअनुसार परिक्रमा डोला कञ्चनवन पुगेपछि होली खेल्ने परम्परा रहेको छ । मिथिलाञ्चलका विभिन्न मठ–मन्दिरका महन्थ, सामाजिक तथा सांस्कृतिक अभियन्ता, राजनीतिक व्यक्तित्वहरू समेत कञ्चनवनको होलीमा सहभागी भएका छन् ।
फागुन शुक्ल प्रतिपदाबाट शुरू भएको मिथिला मध्यमा परिक्रमा सप्तमी तिथिमा ध्रुव कुण्ड हुँदै कञ्चनवन पुग्छ । यही स्थानमा इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थल रहेको छ ।
जनविश्वासअनुसार इच्छावती नदीले भगवान् रामलाई होली उत्सव मनाउन सहयोग गरेको थियो । सीतारामले यही स्थानमा होली खेलेको मानिन्छ । जसलाई परिक्रमा सहभागीहरूले रंग–अबिरबाट पुनर्जीवित गर्ने परम्परा कायम राखेका छन् ।
एकातिर रङ–अबिरको छटा, अर्कोतर्फ होरैया गीतको गुञ्जन, अनि हजारौँ भक्तजनहरूको उल्लासमय सहभागिताले कञ्चनवनको होलीलाई झनै विशेष बनाएको छ ।
जनकपुरधामको हनुमाननगरबाट सुरू भएको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुव कुण्ड हुँदै कञ्चनवन पुगेको हो ।








