प्रधानन्यायाधीशद्वारा मैतीदेवीको गोदा वेणुगोपाल मन्दिर उद्घाटन

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले काठमाडौँ महानगरपालिका–२९ मैतीदेवीचोकस्थित श्री गोदा वेणुगोपालको नवनिर्मित मन्दिरको उद्घाटन गरेका छन् ।

प्रधानन्यायाधीश राउतले आज विशेष धार्मिक अनुष्ठानबीच सो मन्दिरको उद्घाटन गर्दै धर्मले नैतिक आचरणलाई उच्च बनाउँदै सत्मार्गमा हिँड्न प्रेरित गर्ने बताए ।

‘धर्मले सदा न्याय र सत्यका पक्षमा उभिन सहयोग पुर्‍याउँछ’, प्रधानन्यायाधीश राउतले भने, ‘नैतिक आचरणलाई सवल बनाउँदै सत्यमार्गमा व्यक्तिलाई हिँडाउने नै धर्म हो ।’

बागमती प्रदेशका पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठले नेपालको धार्मिक पर्यटनको सम्भावनालाई बलियो बनाउन सो मन्दिर निर्माण गर्नका लागि घरघरमा चन्दा सङ्कलन गरेर आज सफल भएको बताए ।

उक्त मन्दिरमा यही फागुन २६ गतेसम्म आयोजना हुने कार्यक्रमअन्तर्गत गोदा वेणुगोपाल भगवान्को प्राणप्रतिष्ठा एवं महासम्प्रोक्षण अनुष्ठान गर्ने कार्यक्रम छ । अनुष्ठान तोताद्रिमठका पीठाधिपति श्री १००८ रामानुज जीयर स्वामीजीको प्रमुख आचार्यत्वमा सम्पन्न हुनेछ ।

वि.सं २०२२ मा वैकुण्ठवासी श्री १००८ श्री निवासाचार्य स्वामीजीले स्थापना गरेका मन्दिर वि.सं २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको थियो । भूकम्पले क्षति भएको मन्दिर सङ्घ, प्रदेश, स्थानीय तहका सरकार र भक्तजनको सहयोगमा करिब १६ करोडको लागतमा मन्दिर पुनः निर्माण गरिएको हो ।

मन्दिरमा आठ सय जना बस्न मिल्ने धर्मशाला, गौशाला, यज्ञकुण्ड छ । आगामी शैक्षिक सत्रदेखि गुरूकूल पनि सञ्चालन गर्ने तयारी गरिएको मन्दिरका मठाधीश स्वामी यतीन्द्राचार्यले जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =