अर्थमन्त्रीको प्रश्न : संसदमा छलफल हुनु निरंकुश भए लोकतन्त्र खोज्न कहाँ जाने ?

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेस भएका विधेयकहरूको प्रक्रियामा त्रुटि नभएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभामा पेस भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८१’ माथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले सदनमा प्रस्तुत हुने विधेयकमाथि विरोध र समर्थन हुने बताए । विधेयकबारे छलफल गरेर संसदले उचित निर्णय गर्ने उनको भनाइ छ ।
उनले भने ‘हामी राम्रो संवैधानिक अभ्यासमा छौँ । अध्यादेश सदनमा आउँछ, छलफल हुन्छ । समर्थन हुन्छ, विरोध हुन्छ । सभाले विवेक प्रयोग गरेर उचित ढंगले निर्णय गर्छ । त्यही प्रक्रियामा हामी छौँ ।’
अर्थमन्त्री पौडेलले संसदमा प्रस्तुत विधेयक स्वेच्छाचारी वा निरंकुश नभएर सरकारले आवश्यक महसुस गरेर ल्याएको जिकिर गरे । संसदमा प्रस्ताव पेस गर्नु, छलफल गर्नु, संसदले नै निर्णय गर्नु निरंकुश हुन्छ भने लोकतन्त्रको परिभाषा खोज्न कहाँ जाने ? भन्दै प्रतिप्रश्न गरे ।








