खबर दिनभर: भूमी सम्बन्धी अध्यादेशबाट सरकार ‘ब्याक’ ,८४ अघि माओवादी सत्ताभोगी नहुने

संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालको चौतर्फी विकासको लक्ष्य राखेको छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले देशका दूरदराजहरुमा अझैपनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

मंगलवार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशका दूरदराजहरुमा अझैपनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको भन्दै यसलाई गम्भीरतापूर्वक लिएर देशका कुनाकुनामा दक्ष, विज्ञ चिकित्सकहरूको सेवा पुर्याउनु आवश्यक रहेको उल्लेख गरे । उनले सबैलाई आफ्नो—आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन आह्वान समेत गरे ।

राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको भावना र मर्मअनुसार भएको बताए । उनले ठूलो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालको चौतर्फी विकासको लक्ष्य राखेको पनि बताए ।

राष्ट्रपति पौडेलले भने ‘राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार हो । संविधानको यो भावना र मर्मलाई आत्मसाथ गर्दै चिकत्सकहरुले यो पेसालाई सेवा भावको दृष्टिकोणले हेर्नुहुनेछ भन्ने विश्वास लिएको छु । हामीले ठूलो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालको चौतर्फी विकासको लक्ष्य राखेको छ । देशका दूरदराजहरुमा अझैपनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था छ । यो अवस्थालाई गम्भीरतापूर्वक लिएर देशका कुनाकुनामा दक्ष,विज्ञ चिकित्सकहरूको सेवा पुर्याउनु आवश्यक छ । सबैलाई आफ्नो आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन म आह्वान पनि गर्दछु । देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि आउने दिनमा नेपाल चिकित्सक संघको भुमिका अझ प्रभावकारी रहनेछ ।’

राष्ट्रपति पौडेलले देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि आउने दिनमा नेपाल चिकित्सक संघको भुमिका अझ प्रभावकारी रहने विश्वास व्यक्त गरे ।

न्युनतम पारिश्रमीक नदिने संस्थालाई कारबाही गरिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने बताएका छन् । मंगलवार ट्रेड युनियन आन्दोलनको ७८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो ठाउँबाट सकेको काम गरेर सघाउन सके देश बन्न समय नलाग्ने बताए । उनले राम्रो काम गर्नेहरुलाई जसरी पनि बिरोध गरेर राम्रो काम गर्न नदिने परिपाटी हुनु दुःखद् भएको बताए ।

उनले राम्रो काम गर्नेहरुलाई झुटो आरोप लगाउने, काम गर्न नदिने परिपाटी विकसित भइरहकोप्रति चिन्ता व्यक्त गरे । उनले यसअघि प्रधानमन्त्री बन्दा पनि आफूले एक सय एक ऐतिहासिक कामहरु गरेको जिकिर गरे ।

उनले अहिले पनि युवाहरुलाई लक्षित गरेर एक लाख भन्दा बढी एसईई दिने विद्यार्थीलाई ४८ प्रतिशत मात्रै पास हुने स्थितिको अन्त्य गर्न अनलाइन सञ्चालन गरिरहेको बताए ।

उनले यसपटक कम्तिमा ६० प्रतिशत नतिजा पुर्‍याउने उद्देश्यले व्यक्तिगत तवरबाट आफू लागिरहेको र एक लाख बढी विद्यार्थी सहभागी रहेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा एक खालको लहर के छ भने राम्रो काम कसैले गर्न खोज्यो भने त्यसको बिरोध गर्ने, यसको झुटो आरोप लगाउने, त्यसमाथि बिरोध गर्ने । कुनै सरकार अलिकति गरौँ भनेर काम गर्न खोज्यो भने त्यसलाई गर्न नदिने । आफू सरकारमा भयो भने नाटक गर्ने । नाटकमै समय बित्छ । अर्कोले गर्न खोज्यो भने त्यसको बिरोध गर्ने, कसरी त्यसलाई असफल बनाउन सकिन्छ भनेर लाग्ने । यो भन्दा अगाडि म सरकारमा जाँदा एक सय एक ऐतिहासिक मैले नेतृत्व गरेको सरकारमा एक सय एक ऐतिहासिक काम भएका छन् । पूर्वाधार निर्माणका कुरा हुन्, विकासका कुरा हुन्, शिक्षा क्षेत्र, अरु पनि कुरा हुन् । अहिले पनि एसईईलाई ध्यानमा राखेर व्यक्तिगत तवरमा युवाहरुलाई आग्रह गरेर व्यक्तिगत तवरमा पनि सञ्चालन गरिरहेको छु एक लाख भन्दा बढी एसईई दिने विद्यार्थीलाई ४८ प्रतिशत मात्रै पास हुने स्थिति नहोस् भनेर उनीहरुलाई अनलाइन क्लास दिइरहेको छ । युवाहरुको ठूलो साथ सहयोग र सहभागिता छ । यसपटक कम्तिमा ६० प्रतिशत नतिजा पुर्‍याउने उद्देश्य मैले राखेको छु । सरकारतिर मात्रै हेर्ने होइन, हामी हरेकले जुन ठाउँमा उभिएर जे काम गर्नसक्छौँ त्यो गर्नुपर्छ देश बनाउनका लागि ।’

यस्तै प्रधानमन्त्री ओलीले अहिले पनि न्युनतम ज्यालाका लागि लड्नुपरेको अवस्था रहेको भन्दै कतिपय गैरसकारी अस्पतालहरुमा नर्सहरुले न्युनतम पारिश्रमीक नपाएको गुनासो सुनेको बताए ।

उनले न्युनतम पारिश्रमीक भन्दा तलको पारिश्रमीक दिएर काममा लगाउन नपाइने र लगाएको पाए कारबाही गर्ने चेतावनी दिए । पारिश्रमीक कुनैपनि बहानामा न्युनतम भन्दा तलको पारीश्रमीक दिन नपाइने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले पनि न्युनतम ज्यालाका लागि लड्नुपरेको छ । अहिले पनि कतिपय गैरसकारी हस्पिटलहरुमा म सुन्छु । हो की होइन मैले अध्ययन गर्नुपर्छ । कसैले मलाई त्यस्तो भनिरहेको छैन, म चर्चा सुनिरहेको छु । खुद नर्सहरुले पनि न्युनतम स्यालरी बराबरको रकम पाइरहेका छैनन् । यस्तो सुनेको छु । त्यस्तो हो भने उनीहरु पनि श्रमीक हुन् । उनीहरु पनि काम गर्दछन् । उनीहरु श्रमजीवि भन्दा फरक होइनन् । आज ह्वाइट र ब्लु गर्ल छुट्याउने गरिन्छ, त्यो पनि अब छुट्याउन जरुरी छैन । बिस्तारै सबै ह्वाइट कलरमा जानुपर्छ । यो न्युनतम पारिश्रमीक भन्दा तलको पारिश्रमीक दिएर काममा लगाउन कतै पनि पाइँदैन । यो दण्डनीय कानून लाग्ने विषय बनाउनु पर्दछ । पारिश्रमीक कुनैपनि बहानामा न्युनतम भन्दा तल दिन पाइँदैन ।’

प्रधानमन्त्री ओलीले रोजगारी र रोजगारीका अवसर उपलब्ध गराउने बाटो उद्याशीलता र व्यवसायिकता भएको बताउँदै उनले रोजगारीका अवसर उद्यमशिलताबाट सिर्जना गर्न सकिने बताए ।

जनताको घरदैलोमा प्रचण्ड : ८४ को निर्वाचन अघि सरकारमा नजाने उद्घोष

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पीडित जनताले अझै अधिकार प्राप्त गर्न नसकेको बताएका छन् ।

कैलालीको टीकापुरमा मंगलबार आयोजित थारु राष्ट्रियमुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनमा उनले उत्पीडित जनता अहिले पनि आफ्नो अधिकारको पर्खाइमा रहेको बताए ।

“यो व्यवस्था ल्याउनमा उत्पीडित जाति, वर्ग र समुदायको महत्वपूर्ण भूमिका थियो र छ । तिनको अधिकारलाई स्थापित गर्दै समाजवाद स्थापना गर्नु अहिलेको आवश्यकता हो”, अध्यक्ष दाहालले भने । समाजवादी क्रान्तिका लागि जातीय मोर्चा आवश्यक हुने उहाँको जिकिर थियो ।

विगतमा भएको सशस्त्र सङ्घर्षलाई सफल पार्नमा पार्टीसँग जोडिएका जातीय मोर्चाको भूमिका विशेष रहेको बताउँदै अध्यक्ष दाहालले बृहत् शान्ति प्रक्रियापछि ती समुदायसँगको समन्वय र सहकार्यमा केही कमजोरी भएको स्वीकारे ।

“जनताको माझबाट सत्तामा पुगेपछि हामीबाट केही कमजोरी भए । व्यवस्था परिवर्तनका लागि भूमिका खेलेका जाति, समुदाय र वर्गबाट टाढा भएको जस्तो भयो । अहिले गम्भीर समीक्षापछि आफ्ना गल्तीलाई महसुस गर्दै पार्टी अगाडि बढेको छ”, उनको भनाइ थियो ।

अब वि।सं। २०८४ को निर्वाचन अगाडि पार्टी सरकारमा सहभागी नहुने भन्दै अध्यक्ष दाहालले पार्टीभित्र गम्भीर आत्मसमीक्षा गरेर हाल २०६४ सालमा मतदान गर्ने जनताको घरदैलोमा पुग्ने काम भइरहेको बताए ।

जनताको भावना बुझ्नकै लागि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस अभियान सञ्चालन गरिएको उनले उल्लेख गरे ।

पार्टी उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले परिवर्तित व्यवस्थालाई समाजवादी लोकतान्त्रिक गणतन्त्रसँग जोडेर लैजानुपर्ने आवश्यकता औँल्याए । उनले केही शक्तिले उत्पीडित जनतालाई उकास्दै प्राप्त उपलब्धि समाप्त पार्ने प्रयत्न गरिरहेको भन्दै त्यसको रक्षा गर्न सबै एकताबद्ध हुनुपर्ने बताए ।

“थारु जाती नेपालको पुरानोमध्ये एक हो । हाल कतिपयले त्यही समुदायलाई उकास्ने र थचार्ने प्रयत्न गरिरहेका छन् । त्यसमा अलमल पर्नुहुँदैन । जनताले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै त्यसको संरक्षण गर्ने दायित्व हामी सबैको काँधमा छ”, उपमहासचिव पुनले भने ।

उपमहासचिव गिरिराजमणि पोखरेलले वर्तमान व्यवस्थालाई चौतर्फी आक्रमण हुँदै आएको भन्दै जनताको माझबाट त्यसको प्रतिकार हुनुपर्ने बताए ।

उनले देशका हरेक परिवर्तनमा थारु समुदायको भूमिका महत्वपूर्ण रहेकाले यो समुदायको सम्मानका लागि पनि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने बताए ।

सम्मेलनमा विभिन्न २४ जिल्लाका करिब सात सय पचास प्रतिनिधिको सहभागिता रहेको छ । यही फागुन २२ गतेसम्म सञ्चालन हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

तत्काल कसैसँग पनि पार्टी एकीकरण सम्भव छैन : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् ।

मंगलवार धनुषामा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएको कारण एकीकरणको कुनै सम्भावना नरहेको बताए । उनले एजेण्डाको आधारमा कार्यगत एकता गर्न सकिने बताए । उनले आज राष्ट्रियतामाथि खतरा बढेको कारण कार्यगत एकता गर्न सकिने बताए ।

उनले भने ‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन । तत्काल त्यो अवस्था आएकै छैन । तर कार्यगत एकता जोसँग पनि सम्भव छ । इस्युमाथि आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ । जस्तो आज राष्ट्रियतामाथि खतरा बढेको छ । सबै वामपन्थीहरू मात्र होइन अरुपनि किन एकताबद्ध भएर उभिन सकेका छैनन् रु चुच्चे नक्सा नेपालले बनायो । त्यसलाई कार्यान्वयन गरियोस् । भने हामी उभिन सक्दैनौँ रु’

चुच्चे नक्साको कार्यान्वयन जस्ता राष्ट्रिय मुद्दामा कार्यगत एकता गर्न सकिने बताए ।

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । तीन दिनसम्म ललितपुरमा चलेको पार्टीको केन्द्रीय समिति बैठकले हाललाई सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा कुनै निर्णय नभएको र समर्थन कायमै रहेको जानकारी दिए ।

जसपा नेपाले भूमिसम्बन्धी अध्यादेश सरकारले फिर्ता गर्नुपर्ने समेत बताएको छ । अन्य पाँचवटा अध्यादेशलाई भने समर्थन जनाउने निर्णय गरिएको छ।

धुर्मुस-सुन्तलीलाई अख्तियारले दियो ‘क्लिन चिट’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि संकलित रकम दुरुपयोग नगरेको भन्दै कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई सफाइ दिएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष र उपाध्यक्ष कट्टेल र घिमिरेलाई अख्तियारतको कार्यालयले ‘क्लिन चिट’ दिएको हो । प्राप्त सहयोगलाई फाउन्डेसनले प्रक्रियागत रूपमा नै खर्च गरेको अख्तियारले बताएको छ ।

देश(विदेशमा रहेका नेपालीहरु एवं सरकारी कार्यालयबाट ५७ करोडभन्दा बढी रकम उठाएको र त्यसको दुरुपयोग गरिएको भन्दै तत्कालीन कोषाध्यक्ष अनिल अधिकारीले धुर्मुस र सुन्तलीविरुद्ध अख्तियारमा उजुरी हालेका थिए ।

अख्तियारको भने तीन वर्ष लामो अनुसन्धानबाट फाउन्डेसनले गरेको खर्च प्रक्रियामा कुनै अनियमितता नभएको देखाएको छ । फाउन्डेसनले रकम दुरुपयोग गरेको प्रमाण नभेटिएको अख्तियारको कार्यालयले जनाएको छ ।

विशेषको फैसला चित्त नबुझेपछि सर्वोच्च पुग्यो अख्तियार, विजय गच्छदारसहित सय बढी प्रतिवादी

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतबाट भएको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

सो प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री विजय कुमार गच्छदारसहित १ सय १० जनालाई प्रतिवादी बनाउँदै आयोगले मंगलबार सर्वोच्च अदालतमा पुरनावेदन गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले गच्छादारलाई ९ करोड ६५ लाख बिगो दाबी गरको छ ।

आयोगले १ सय १० जनालाई प्रतिवादी बनाउँदै सर्वोच्चमा पुनरावेदन गरेको आयोगका सहसचिव एवं प्रवक्ता नरहरि घिमिरेले बताए । उनका अनुसार जग्गा जफत गर्ने प्रयोजनका ६५ जना आरोपीलाई पनि आयोगले प्रतिवादी बनाएको छ ।

आयोगले २०७६ माघ २२ मा ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्वमन्त्री, पूर्वसचिव सहित १ सय १० जनाविरुद्ध बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफत प्रयोजनमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

यस्तो छ भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

भोलि (बुधबार) दिउँसो १ बजेका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने भएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ सहित पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको छ ।

त्यसैगरी ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवद्र्धनसम्बन्धी अध्यादेश, २०८१’ स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय भएको छ ।

सरकारले ६ वटा अध्यादेश ल्याए पनि जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले विपक्षमा देखिएपछि ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ भने सरकारले रोकेर अन्य पाँच वटा अध्यादेश संसद्मा लैजाने भएको हो

यसअघि गत माघ २४ गतेको प्रतिनिधिसभाको वैठकको कार्यसूचीमा चढाएर पनि स्थगित गरिएको थियो । त्यसको झण्डै एक महिनापछि अध्यादेश अगाडि बढाउनेसम्बन्धी कार्यक्रम कार्यसूचीमा परेको हो । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले भोलि (बुधबार) बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरेको छ ।

१२ रूपैयाँले बढ्यो खाना पकाउने ग्यासको मूल्य

खाना पकाउने एलपि ग्यासको मूल्य प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपि ग्यास उद्योग संघका पदाधिकारीबीच मंगलबारको बैठकमा आयल निगम सञ्चालक समितिको २ दिनअघि बसेको बैठकले गरेको ग्यासको भाडा समायोजनसम्बन्धी निर्णय जानकारी गराइएको छ ।

आन्तरिकतर्फ ग्यासमा प्रतिसिलिण्डर १२।७५ ले मूल्य वृद्धि गर्ने सहमति भएपनि उपभोक्तालाई भने मूल्य नबढ्ने नेपाल आयल निगमले जनाएको छ ।

वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादु कार्कीसहितका सरकारी प्रतिनिधि र व्यवसायीबीच ५ बुँदे सहमति भसंगै नेपाल एलपि ग्यास उद्योग संघका सम्पूर्ण विरोधका कार्यक्रमहरु स्थगित भएका छन् ।

बोरिङ गर्ने क्रममा ग्यास ‘लिकेज’ : त्रासमा स्थानीय

टीकाथली क्षेत्रमा बोरिङ गर्ने क्रममा ग्यास ‘लिकेज’ भएपछि स्थानीय जनता त्रसित भएका छन् । सो घटनापछि ग्यास अन्वेषण तथा भण्डारण, बस्ती व्यवस्थापनलगायत विषयमा स्थानीयवासी विचारविमर्श गरिरहेका छन् ।

महालक्ष्मी नगरपालिका–५, टीकाथलीस्थित बुजुर्ग खोला करिडोर क्षेत्रमा खानेपानीका लागि ‘बोरिङ’ गर्नेक्रममा ग्यास निस्केपछि यसै विषयमा केन्द्रित भई तर्कवितर्क सुरु हुन थालेको हो ।

स्थानीय बासिन्दा महेश महर्जन खानेपानीका लागि बोरिङ गर्ने सिलसिलामा करिब २७५ मिटर गहिराइमा पुगेपछि एक्कासी ग्यास लिकेज भई आगोको लप्का निस्केको घटनात्रलाई सामान्य रुपमा लिन नहुने बताए ।

टीकाथली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य राजेशकुमार राणाका अनुसार यसअघि पनि बोरिङ गर्नेक्रममा करिब १०० मिटर खन्दा ग्यास निस्केको घटनासमेतलाई दृष्टिगत गरी खानेपानीको अभाव रहेको टीकाथली क्षेत्रमा बोरिङमार्फत पानी निकाल्ने काम थप जटिल बनेकाले यसतर्फ जिम्मेवार निकायको ध्यान जान आवश्यक छ ।

सदस्य राणाले भने, “करिब ७०र८० वर्षअघि नेपाल र भारतबीच ग्यास प्लान्ट स्थापना गर्ने सन्दर्भमा सम्झौता भई ललितपुरको इमाडोल, टीकाथली र खरिबोट क्षेत्रमा भण्डारणका लागि जग्गा छुट्याइएको तर कार्यान्वयन नभएको भन्ने कुरा अग्रजहरूबाट सुनेका हौँ, तर अहिले अचम्मित हुनेगरी पानीका लागि जमिन खन्दा ग्यास पो निस्कन थाल्यो । पानीको समस्या झेलिरहेका यस क्षेत्रका जनता झन् त्रसित र अप्ठ्यारोमा परेका छन्, यसतर्फ सम्बन्धित पक्षले समयमै सोच्न जरुरी छ ।”

महालक्ष्मी नपा–५ को वडाअध्यक्ष कपिल केसीले भने, “मेरो स्थायी बसोबास रहेको टीकाथली क्षेत्रमा बोरिङ गरी खानेपानी निकाल्ने क्रममा करिब २७५ मिटर गहिरो खनेपछि अपेक्षा गरिएअनुसार नै पानी आउन थाल्यो । यसैबीच फलामको पाइप जडान गर्ने क्रममा ‘वाइरिङ’ गर्दा निस्केको आगोको सामान्य लप्कालाई अहिले बढाई चढाई समाजलाई त्रसित बनाउने काम भइरहेको छ । बाहिर आएको जस्तो नभई यो सामान्य घटना हो, कोही पनि त्रसित हुन आवश्यक छैन ।”

महालक्ष्मी नगरपालिकाले स्थानीयवासीको मागलाई ध्यानमा राखी सो घटनाका सन्दर्भमा आवश्यक अध्ययन, अनुसन्धान गर्न खानी तथा भूगर्भ विभागलाई पत्रचार गरेको जनाएको छ ।

नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा विजुक्छे चयन

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान बिजुक्छे (रोहित)सर्वसम्मत चयन भएका छन् । नेमकिपाको मंगलबार सम्पन्न आठौँं महाधिवेशनको अन्तिम आज बिजुक्छेंलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

नेमकिपाको आठौंँ महाधिवेशन गत फागुन १६ गते सुरू भएको हो । वि.सं. २०३१ माघ १० गते विधिवत् स्थापना भएको नेमकिपाको स्थापनाकालदेखि बिजेक्छें सर्वसम्मत अध्यक्ष रहँदै आएका छन् ।

उमेर ८५ वर्ष पुगेएका बिजुक्छेंले २०७४ को आम निर्वाचनमा संसदीय राजनीतिबाट विश्राम लिएका थिए । उनले जित्दै आएको भक्तपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेमकिपाले २०७४ मा पार्टी सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएको थियो ।

महाधिवेशनले नेमकिपाको सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापति सर्वसम्मत चयन गरेको छ । यसैगरी केन्द्रीय सदस्यमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाइँ, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य र सुरेन्द्रराज गोसाइँ सर्वसम्मत चयन भएका छन् ।

यस्तै रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डङ्गोल, सिर्जना सायजू, सरोजकुमार साह, कृष्णबहादुर तामाङ, मुक्ति यादव, योगेन्द्रमान बिजुक्छें, बखत थापा, रमेशकुमार रावल, केशेन्द्र प्रकाश कार्की र खड्गराज शाही पनि केन्द्रीय सदस्य चयन भएका छन् ।

महाधिवेशनले मन्जु चौधरी, विनोद विक, तुल्सी खड्का र प्रकाश गुरूङलाई वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको छ ।

घट्यो नेप्से परिसुचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मा ३० दशमलव ३६ अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार र मंगलबार निरन्तर दोहोरो अङ्कले घटेको हो । एक दशमलव ०५ प्रतिशतको गिरावटपछि आज नेप्से परिसूचक दुई हजार ८४६ दशमलव ३० को विन्दुमा कायम भएको छ ।

आज तीन सय १८ कम्पनीको दुई करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर एक लाख २२ हजार ३३६ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ एक दशमलव ०५, विकास बैङ्क शून्य दशमलव ३९, वित्त दुई दशमलव १०, होटल तथा पर्यटन शून्य दशमलव ९७ र जलविद्युत् समूह एक दशमलव ०८ प्रतिशतले घटेको छ ।

त्यसैगरी लगानी एक दशमलव ७५, जीवन बिमा शून्य दशमलव ६९, उत्पादन तथा प्रशोधन दुई दशमलव २१, लघुवित्त एक दशमलव ४१, म्युचुअल फन्ड शून्य दशमलव ५५, निर्जीवन बीमा एक दशमलव ११, व्यापार शून्य दशमलव ८४ र अन्य समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ ।

गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छभने सिन्धु विकास बैङ्क लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको रु एक अर्ब नौ करोड ३० लाख ७८ हजार ९८३ बराबरको कारोबार भएको छ ।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावर लिमिटेडको १३ लाख १७ हजार ८४२ कित्ता सेयर किनबेच भएको छ ।

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा तीन दिनलदेखि स्थिर रहेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९मंगलबार० सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन १ लाख ६८ हजार १ सय मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेर १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा भारत, अस्ट्रेलियालाई ४ विकेटले हरायो

अस्ट्रेलियालाई हराउँदै भारत आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्‍यो । भारतका लागि विराट कोहलीले सर्वाधिक ८४ रन बनाए । श्रेयस अय्यरले ४५ रन बनाए । केएल राहुल ४२ रनमा अविजित रहे ।

अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन बनाए । एलेक्स क्यारीले ६१ रन बनाए । ओपनर ट्राभिस हेडले ३९ रन बनाए । मार्नस लबुशेनले २९ रन बनाए ।

अमेरिकाले हतियार आपूर्ति रोकेपछि प्रतिरोध जारी राख्ने युक्रेनको प्रतिज्ञा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किएभलाई महत्त्वपूर्ण अमेरिकी सैन्य समर्थन रोक्ने निर्णय गरेपछि युक्रेनले मङ्गलबार रुसी आक्रमणको सामना गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

अमेरिकी राष्ट्रपतिले ओभल कार्यालयमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग एक अविस्मरणीय सार्वजनिक झगडा भएको केही दिनपछि किएभलाई सैन्य सहायता स्थगित गर्नुभएको छ ।

हामी प्रतिरोध जारी राख्न सबै कुरा गर्नेछौँ”, प्रधानमन्त्री डेनिस स्मिगालले किएभमा पत्रकार सम्मेलनमा भन्नुभयो । सन् २०२२ फेब्रुअरीमा रुसले आक्रमण गरेयता वासिङ्टन युक्रेनको सबैभन्दा महत्त्वपूर्ण सैन्य समर्थक रहँदै आएको छ । प्रधानमन्त्री स्मिगालले अमेरिकी सहायता वायु रक्षा र खुफिया आदान–प्रदानका रूपमा ‘हजारौँ, सम्भवतः दशौँ हजार युक्रेनीको जीवन बचाउने’ भएको बताउनुभयो ।

युक्रेनले युरोपसँग खाली ठाउँ भर्न वार्ता गरिरहेको र हतियार रोक्ने विषयमा ट्रम्पसँग वार्ता गर्न चाहेको बताएको छ ।

“हामीले हाम्रा युरोपेली साझेदारहरूसँग विकल्पहरूमा छलफल गरिरहेका छौँ र निस्सन्देह हामी हाम्रा अमेरिकी समकक्षहरूसँग वार्ताको सम्भावनालाई बेवास्ता गरिरहेका छैनौँ”, युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलियाकले एक्समा भन्नुभयो ।

स्मिगालले भन्नुभयो, “युक्रेन अमेरिकासँग सहयोग जारी राख्न पूर्ण रूपमा कटिबद्ध छ ।”यसमा संयुक्त राज्य अमेरिकालाई युक्रेनको खनिज र प्राकृतिक स्रोतहरूमा प्राथमिक पहुँच दिन रद्द गरिएको सम्झौतामा हस्ताक्षर गर्नु समावेश रहेको उहाँले बताउनुभयो ।

सहायता रोकावटमा अहिलेसम्म सार्वजनिक टिप्पणी नगर्नुभएका जेलेन्स्की उक्त सम्झौतामा हस्ताक्षर गर्न वासिङ्टन जानुभएको थियो तर त्यो ट्रम्प र उपराष्ट्रपति जेडी भान्सँगको द्वन्द्वपछि रद्द गरियो । अमेरिकी समर्थनको महत्त्वलाई जोड दिँदै स्मिगालले मङ्गलबार वासिङ्टनबाट सुरक्षा ग्यारेन्टी युक्रेन र युरोप दुवैका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।

“हामीलाई संयुक्त राज्य अमेरिका, युरोप र जी–७ देशहरूबाट ठोस सुरक्षा ग्यारेन्टीहरू चाहिन्छ र माग्छौँ । यो युक्रेनका लागि मात्र नभई युरोपेली सङ्घ, युरोपेली महादेशका लागि पनि अस्तित्वगत रूपमा महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

स्मिगालले सबैभन्दा गम्भीर रूपमा प्रभावित क्षेत्रहरू मध्ये एउटा प्याट्रियट एयर डिफेन्स सिस्टम र गोलाबारुदको आपूर्ति हुनसक्ने बताउनुभयो ।“प्याट्रियट प्रणालीहरू अहिलेसम्मको एक मात्र प्रणाली हो जुन रूसी ब्यालेस्टिक मिसाइलहरूसँग लड्न सक्षम छ”, उहाँले भन्नुभयो ।

युक्रेनले युद्धको सुरुआती चरणमा महिनौँसम्म वासिङ्टन र आफ्ना सहयोगीहरूलाई आफ्नो आकाश र सहरहरूलाई रुसी हवाई आक्रमणबाट बचाउन प्याट्रियट ब्याटरीहरू पठाउन अनुरोध गरेको थियो ।

ट्रम्पको चेतावनी – शान्ति सम्झौता भएन भने युक्रेनी नेता लामो समयसम्म बाँच्दैनन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्कीबीच ओभल अफिसमा भएको मौखिक झडपपछि ट्रम्प प्रशासनले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ ।

ट्रम्पले शान्ति सम्झौतामा प्रगति नभए युक्रेनी नेता धेरै लामो समयसम्म बाँच्न नसक्ने चेतावनी दिए । “यो सम्झौता पूरा गर्न त्यति गाह्रो हुनु हुँदैन । यो धेरै चाँडै गर्न सकिन्छ,” ट्रम्पले युद्धविरामको सन्दर्भमा पत्रकारहरूलाई बताए ।

सोमबार ह्वाइट हाउसमा ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) का प्रमुख कार्यकारी सीसी वेईसँगको कार्यक्रममा ट्रम्पले युद्ध लामो समयसम्म चल्न सक्ने भन्दै जेलेन्स्कीको आलोचना गरे ।

वार्ता पुनः सुरु गर्न जेलेन्स्कीबाट के हेर्न आवश्यक छ भनेर सोध्दा ट्रम्पले भन्नुभयो,“ठीक छ, मलाई लाग्छ हामीले युक्रेनलाई युरोप भन्दा धेरै दिएका छौं र युरोपले हामी भन्दा धेरै दिनुपथ्र्यो । किनकि तपाईलाई थाहा छ, त्यो त्यहाँ अवस्थित छ । त्यो युरोपको सीमाना हो । यो युरोपको लागि धेरै महत्वपूर्ण थियो ।”

“ठीक छ, हामीले ३५० बिलियन अमेरिकी डलर दियौं । तिनीहरूले १०० डलर दिए । तिनीहरूले यो ऋणको रूपमा सहयोग गरिरहेका छन् । यो एक सुरक्षित ऋण हो ।” ट्रम्पले गत हप्ता युक्रेन रुसविरुद्धको लडाइमा २७०० युवाहरू मारिएका बताए । उनले भने,“म ती सबै युवाहरूलाई मारिनबाट रोक्न चाहन्छु । लडाइमा हरेक हप्ता हजारौं मारिरहेका छन् । तिनीहरूले हप्तामा हजारौं सिपाहीहरू गुमाइरहेका छन् । म यसलाई रोकिएको हेर्न चाहन्छु ।”

यसअघि फेब्रुअरीमा, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको लागि शान्ति र उत्तर एट्लान्टिक सन्धि गठबन्धन ९नाटो० को सदस्यताको बदलामा राष्ट्रपति पदबाट राजीनामा दिन आफ्नो इच्छा व्यक्त गरेका थिए ।

जेलेन्स्कीले आफ्नो आजको ध्यान युक्रेनको सुरक्षामा रहेको बताए । माइलोभानोभले एक्समा साझा गरेको पोस्ट अनुसार, जेलेन्स्कीलाई सोधिएको थियो कि उनी शान्तिका लागि पद त्याग्न तयार छन् कि छैनन् । जवाफमा जेलेन्स्कीले भने“म शान्तिका लागि पद छाड्न तयार छु । यदि शान्ति भएन भने युक्रेनको लागि नाटोको बदलामा म पद छाड्न पाउँदा खुसी हुनेछु । म आज युक्रेनको सुरक्षामा केन्द्रित छु र दशकौंसम्म सत्तामा रहने छैन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + ten =