श्रममन्त्री भण्डारी र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंगलबार मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीच भएको आपसी समझदारी एवं श्रम सम्झौताको कार्यान्वयनका विविध पक्षमा छलफल भएको मन्त्रालयका प्रवक्ता डण्डुराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार नेपालबाट जापान पुगी कार्यरत रहेका नेपाली कामदारहरुको सेवा, सुविधा र सुरक्षालगायतका विषयमा मन्त्री भण्डारीले चासो राखेका थिए ।

यसैगरी जापान सरकारको मागबमोजिम पठाइने दक्ष सीपयुक्त कामदारको सन्दर्भमा दुवै पक्षबीच छलफल गरी यथाशीघ्र निष्कर्षमा पुर्‍याउनुपर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको थियो ।

भेटका क्रममा नेपालका लागि जापानी राजदूत तोरुले नेपाली दक्ष कामदार जापान पठाउने विषय, कामदारका सेवा, सुविधा र सुरक्षाका विषयमा आफू सकारात्मक रहेको बताए । नेपाली कामदारका लागि जापान सुरक्षित र आकर्षक गन्तव्य रहेको साथै आगामी दिनमा नेपाली कामदार जापान पठाउने सन्दर्भमा दुवै पक्षले समझदारीका आधारमा सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 6 =