सुशासनका लागि जोसँग जुध्न तयार छु, तर सम्झौता गर्दिन : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुशासनका लागि जोसँग पनि जुध्न तयार रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले सो कुरा बताएका हुन् ।
उनले सुशासनका लागि कसैसंग सम्झौता नगरिने समेत बताएका छन् । उनले लेखेका छन्,‘सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्छु ।’
उनले आफु प्रधानमन्त्री केपी शर्मा ओलीको दुश्मन नभएको बताउँदै विकासका साझेदार रहेको बताए । भ्रष्ट कार्यकर्तासंग भने नझुक्ने उनको भनाई छ ।
‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईकै कार्यकालमा भएका हुन् भनिदिउँला,शाहले भने,‘तर त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पुर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईकै हो । अनि जति भ्रम फैलाए पनि, हामी तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो ।’








