सरुमारानीको आर्थिक सहयोगमा कुसुन्डा भाषा प्रशिक्षण हुँदै

प्युठान । लोपउन्मुख कुसुन्डा समुदायको भाषा संरक्षणका लागि प्युठानमा १५ दिने कुसुन्डा भाषा प्रशिक्षण हुने भएको छ ।

सरुमारानी गाउँपालिकाको आर्थिक सहयोगमा सोमबारदेखि देशभरका कुसुन्डालाई एकैथलोमा राखेर १५ दिने भाषा प्रशिक्षण गर्न लागिएको पालिकाका अध्यक्ष झकबहादुर विकले जानकारी दिए । प्रशिक्षणमा नेपालभर रहेका कुसुन्डा समुदायका प्रत्येक घरबाट एक जनाको प्रतिनिधित्व हुने गरी व्यवस्थापन गरिएको उनले बताए ।

“हामीले कुसुन्डा भाषाको संरक्षणका लागि कानुनसमेत बनाइसकेका छौँ । मानवीय विकास नै पहिलो विकास भएकाले लोपउन्मुख कुसुन्डा समुदायका नागरिकलाई भाषा, संस्कार र संस्कृति संरक्षणका लागि काम गरिरहेका छौँ । यो पनि त्यसैको निरन्तरता हो”, अध्यक्ष विकले भने ।

कुसुन्डा भाषाका अनुसन्धानकर्ता उदयराज आलेले लोपउन्मुख समुदायको भाषा, संस्कार र संस्कृति संरक्षणका लागि पालिकास्तरबाट पहिलोपटक यस्तो कार्यक्रम हुन लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । यसघघि भाषा आयोगको सहयोगमा दाङका २३ जना कुसुन्डा युवाले भाषा सिकिसकेको पनि उनले बताए ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा जातिको जनसङ्ख्या एक सय १५ पुरुष र एक सय ३८ महिला गरी दुई सय ५३ जना रहेको छ । लुम्बिनी प्रदेशको प्युठानमा पुरुष १६ र महिला १५ गरी ३१ जना छन् भने दाङमा पुरुष १७ र महिला २७ गरी ४४ जना छन् ।

गोर्खा, तनहुँ, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ देउखुरी र सुर्खेतमा कुसुन्डाको बसोबास रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + three =